मर्जरमा जाने कम्पनीलाई स्वीकृति

काठमाडौँ, जेठ ४ गते । बीमा समितिले प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर) स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनीलाई मङ्गलबार स्वीकृति दिइएको हो ।

समितिले यसअघि निर्जीवन बीमा कम्पनीको तर्फबाट हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सलाई गाभ्न तथा गाभिन स्वीकृति प्रदान गरिसकेको छ । यी कम्पनीहरूले गत साता मर्जरमा जाने सहमति गरेका थिए ।

बीमा समितिको निर्देशनपछि पुँजी वृद्धिको दबाबमा रहेका बीमा कम्पनी मर्जरमा जान लागेका छन् ।

समितिको चैत १० गतेको निर्देशनअनुसार एक वर्षभित्रै निर्जीवन बीमा कम्पनीले दुई अर्ब ५० करोड रुपियाँ र जीवन बीमा कम्पनीहरूले पाँच अर्ब रुपियाँ चुक्ता पुँजी पु-याउनेपर्ने व्यवस्था छ ।

सेयर कारोबार रोक्का

मर्जर प्रक्रिया अगाडि बढाएका प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । तीनवटै कम्पनी एक आपसमा गाभिने भएपछि सेयर कारोबार रोक्का गरिएको हो ।

हाल प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँसको दुई अर्ब आठ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड रुपियाँ चुक्ता पुँजी रहेको छ ।

गोरखापत्रबाट अनलाईन

Advertisment