नगेन आर्ट एकेडेमीमा गाई शीर्षकको कला प्रदर्शनी

पोखरा, ७ भदौ । गाईजात्रा एवम् श्रीकृष्ण जन्माष्टमीको अवसर पारी पोखराको चिप्लेढुङ्गास्थित नगेन आर्ट एकेडेमीमा गरिएको ‘गाई’ शीर्षकको कला प्रदर्शनी सम्पन्न भएको छ ।

गत साउन २६ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित प्रदर्शनीमा कलाका क्षेत्रमा रुचि राख्ने एक हजार भन्दा बढी व्यक्ति सहभागी भई अवलोकन गरेको नगेन आर्ट एकेडेमीका अध्यक्ष ज्योति हमालले जानकारी दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवम् विश्व हिन्दु युवा संघ ललितकला विभाग प्रमुख कलाकार नगेन सिंहद्वारा ‘अल्कोहलिक ईंक’ का माध्यमद्वारा बनाइएका २१ वटा चित्रहरू प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीको समापन समारोहमा विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारील गाईको अस्तित्व नै धरापमा परिरहेका समयमा गरिएको प्रदर्शनीले विशेष महत्व राख्ने बताउनुभयो ।

विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेशजंग शाहले गाईको महत्वलाई बुझ्न नसकिएको बताउँदै यसको संरक्षणका लागि आमजनमानसमा सचेतना अभिबृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य इन्दिरा कोइराला, कलाकार नगेन सिंह, एकेडेमीका अध्यक्ष ज्योति हमाल लगायतले गाईको महत्वलाई उजागर गर्न नसक्दा यसको अस्तित्व नै संकटमा पर्दै गएको धारणा राख्नुभयो ।

उक्त अवसरमा गाई प्रदर्शनी हेरिसकेपछि क्लेका माध्यमबाट शिशु निकेतन स्कुलकी कक्षा ४ मा अध्ययनरत छात्रा रुक्साङ पुनले तयार गर्नुभएको गाईको मूर्ति विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

Advertisment