प्रेस युनियनका संस्थापक अध्यक्षको स्मृतिमा पुरस्कार

प्रेस युनियन ललितपुरद्वारा “बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार”स्थापना
ललितपुर, नेपाल प्रेस युनियन ललितपुर शाखाले जिल्ला शाखाका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको नाममा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
स्वर्गीय कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै आज उहाँको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो ।
सो पुरस्कार प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाई काम गर्ने र गरिरहेका एक पत्रकारलाई प्रदान गरिने भएको युनियन ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस पुरस्कार अन्तर्गत हामीले रु २५ हजार नगद राशि प्रदान गरी हरेक वर्ष सम्मान गर्नेछौँ ।” युनियनको कार्यसमितिले स्वतन्त्र व्यक्तिको कार्यदल बनाएर पत्रकार छनोट गरी कुनै राजनीतिक पूर्वाग्रह बिना पुरस्कार प्रदान गर्ने भएको दाहालको भनाइ छ ।
सो कार्यलाई निरन्तर अघि बढाउन आफूहरुले रु ११ लाख ११ हजार एक सय ११ को रकमको अक्षयकोष स्थापना गर्ने भएको दाहालले सुनाउनुभयो । “यस शाखा २०५४ सालमा स्थापना हुँदा स्वर्गीय कार्की संस्थापक अध्यक्ष रहेका र उहाँले २०६७ सालसम्म निरन्तर तीन कार्यकाल अध्यक्ष चलाउनुभएको थियो”, अध्यक्ष दाहालले थप्नुभयो ।
कार्कीले पत्रकारिता क्षेत्रलाई ललितपुरमा सक्रिय र चलायमान बनाउन योगदान गर्नाका साथै २०५४ पछि ‘एक गाबिस एक पत्रकार’ अभियान अन्तर्गन प्रेस कर्मीको बढुवा र क्षमता अभिवृद्धि गर्न समेत योगदान गर्नुभएको सो शाखाका संस्थापक सदस्य सुर्य नेपालले बताउनुभयो ।
स्वर्गीय कार्कीको मृत्यु २०७८ जेठ ३ गते भएको थियो ।

Advertisment