‘जनताको साथमा कांग्रेस’ अभियान गण्डकी प्रदेश प्रतिनिधि टोली तनहँमा

दमौली,भदौ १२ । यही भाद्र १० गतेदेखि शुरु जनताको साथमा कांग्रेस अभियान अन्तर्गत गण्डकी प्रदेशबाट तनहुँका लागि खटिएको टोली आइतबार तनहुँ आएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता एवं तनहुँ जिल्लाका लागि प्रदेश प्रतिनिधि माधव प्रसाद वास्तोला ‘मधु’ नेतृत्वको टोली तनहुँ आएको हो ।
प्रवक्ता वास्तोला सहित तनहँु क्षेत्र नम्बर १ ‘ख’का खटाइएका प्रतिनिधि गण्डकी प्रदेश प्रचार विभागका सहसंयोजक शिरोमणी बराल, प्रदेशका प्रचार विभागका सदस्य-सचिव राजबहादुर गुरुङ र तनहँु क्षेत्र नम्बर १ ‘क’ लागि प्रदेश प्रतिनिधि विरेन्द्र प्रसाद मण्डलसहितको चार जनाको टोलीले आज विपी स्मृति भवन दमौलीमा अभियान सफल बनाउने सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानका चार उद्देश्यका सन्दर्भमा छलफल गरी राय सुझाव संकलन गरिएको प्रदेश प्रतिनिधि बास्तोलाले जानकारी दिनुभएको छ । टोलीले तनहुँमा पार्टीको सांगठनिक अवस्था सहित आगामी निर्वाचन लगायतका विषयमा प्रारम्भिक जानकारी लिएको बास्तोलाले बताउनुभयो ।
टोलीले जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, क्षेत्रीय सभापति श्याम मौरती, क्षेत्र नम्बर १ ‘ख’का सभापति काजीमान श्रेष्ठ लगायतसँग भेटघाट एवं छलफल गरेको थियो ।
छलफलका क्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले पार्टी बलियो बनाएर एकताबद्ध भई चुनावमा जानुपर्नेमा जोड दिनुभएको थियो । सबै जातजाति र भेग मिलाएर उम्मेदवारी प्रस्तुत गरेको खण्डमा तनहुंमा कसैले कांग्रेसलाई पराजित गर्न नसक्ने समेत उद्दघोष गर्नुभयो ।
त्यस्तै पार्टी उपसभापति देवकुमार श्रेष्ठले आन्तरिक समस्या निराकरण गरी चुनावमा गए कांग्रेसलाई कसैले हराउन नसक्ने बताउनु भएको थियो । त्यसैगरी संविधान सभा सदस्य रामचन्द्र पोखरेलले जनताको भावना अनुसारको रुपान्तरण र विकास परियोजना अगाडि ल्याउनुपर्ने बताउनुभएको थियो । छलफलमा गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि एवं महिला संघ सभापति पवित्रा पौडेल, नेका गण्डकी प्रदेश सदस्य पवित्रा गौली लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरि पार्टीको आन्तरिक कामको कार्यब्यस्तताले खैरेनीटारमा रहनुभएका तनहुं कांग्रेस पार्टी सभापति जित प्रकाश आलेसंग समेत प्रदेश टोलीले भेटघाट गरेको छ । भेटमा सभापति आलेले पार्टीको आन्तरिक बिषय , गठबन्धनको अवस्था, र समग्र तनहुंको बिकासका बारे आफ्नो बिचार प्रस्तुत गर्नुभएको छ ।

गण्डकी प्रदेशबाट तनहुँ १ ‘ख’का लागि खटिएका शिरोमणी बराल र राजबहादुर गुरुङले जनतासँग कांग्रेस अभियानको क्रममा कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएको अडानबारे जनतालाई सुसूचित गर्ने र गराउने पक्षमा माहोल गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यसैगरि नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापति शुक्रराज शर्माले तनहुंका पत्रकार ओमकार आचार्यलाई प्रचार प्रसार बिभागको सदस्यमा मनोनित गर्नुभएको छ । शर्माद्दारा हस्ताक्षरित पत्र प्रदान गर्नुहुंदै प्रदेश प्रवक्ता माधब प्रसाद बास्तोला “मधु” ले पार्टीको सुचना प्रबाहमा थप जिम्मेवार गर्न आग्रह गर्नुभयो ।

Advertisment