किवी खेतीबाट मनग्गे आम्दानी

रेखीराम राना 

पाल्पा, माघ २६ गते । परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रूपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् ।

अन्य खेतीभन्दा किवी खेतीबाट पाँच गुणाभन्दा बढी फाइदा लिएको पूर्वखोला–२, जल्पाकी किसान मीनादेवी कवरमगरले बताउनुभयो । “मकै, कोदो, गहुँ तथा तोरी लगाउने बारीमा अहिले किवी लगाएका छौँ । किवीबाट पाँच गुणासम्म फाइदा हुने रहेछ,” उहाँले भन्नुभयो ।

मकै लगाउँदा बाँदरको आक्रमण सहनुपर्ने र मकै नफल्ने समस्या थियो । किवी खेती लगाएपछि किसानलाई बाँदरको समस्या पनि हट्यो, फाइदा पनि राम्रै भयो,” पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारूले भन्नुभयो । सात वर्षअघि गाउँका केही युवाले किवी खेती गरेपछि त्यसको सिको गर्दै जल्पाका महिलाले सामूहिक किवी खेती सुरु गरेका वडाध्यक्ष सारूले बताउनुभयो । किवी खेतीका लागि पूर्वखोला गाउँपालिकाले आवश्यक तालिम, बीउ तथा प्राविधिक सहयोग गरेको छ ।

यस जिल्लाको माथागढी गाउँपालिकाका किसान पनि किवी खेतीमा आकर्षित भएका छन् ।

Advertisment