आज बाट सोंथर बेँसीमा 4A साइड फुटबल प्रतियोगिता, २१ टीम सहभागी, पहिलो खेल नागीधार र भाचोक बिच हुने !

बैशाख ८, पोखरा । आज बाट सुरु हुने कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा आयोजना गरिएको खुल्ला 4A साइड फूटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मादी -८ मा पर्ने नागीधार ,पाखुरीकोट गाउँ र मादी -१० मा पर्ने भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सो बेँसीमा हुने प्रतियोगितामा कास्की ,लमजुङ र पोखराको टीम गरी २१ टीमले दर्ता गराएको खेल संयोजक किशान बिकले जानकारी दिएका छन् ।

आज ८ गते बाट सुचारु हुने उक्त प्रतियोगिताको पहिलो खेल नागीधार भुपु र लम्तरी युवा क्लब भाचोक बिच हुने प्रतियोगिताका सहसंयोजक बिशाल घलेले जानकारी दिए ।

प्रति टीममा ४ जना खेलाडी साथै ३ जना बैकल्पिक हुनेछन् ।

प्रतियोगितामा बिजेता टीम लाई नगद २५ हजार , उपबिजेता लाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता सम्पन्न गर्न २ लाख बढि अनुमानित खर्च लाग्ने आयोजक सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे समुहका सदस्य एवम् सोंथर बेँसी विकास समितिका उपाध्यक्ष आस बहादुर गुरुङले बताए

प्रतियोगिताको अवसर पारेर ९ गते शनिवार निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम त्यस्तै त्यस क्षेत्रका विभिन्न गाउँहरुमा सन्चालित होमस्टे तथा फार्मस्टे हरु विच एक आपसमा समन्वय गर्न अन्तरक्रिया कार्यक्रम समेत राखिएको होमस्टे समुहका अध्यक्ष ओम प्रकाश गुरुङले बताएका छन् ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे र सोंथर बेँसी विकास समितिको संयुक्त आयोजना तथा मादी ८ र १० को समन्वयमा पोखरा हस्पिटल प्रालि अमरसिङले निशुल्क स्वास्थ्य शिबिर समेत सन्चालन गर्ने छ ।

शिबिरमा आँखा, दाँत , हाड जोर्नी नसा, पेट फिस्टुला, मुटु, महिला तथा बालबालिकाको समस्य, मानसिक समस्य लगायतको चेकजाँच हुनेछ । साथै चेकजाँच गर्न आउनेलाई हस्पिटलले कार्ड समेत दिइने र उक्त कार्डको आधारमा १ वर्ससम्म हस्पिटलमा चेकजाँच गर्दा विशेष छुट दिइने हस्पिटलले जनाएको छ ।

सोंथर बेँसीको प्रवर्धन साथै सोंथर बेँसीमा सन्चालित सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेको प्रचारप्रसारका लागी प्रतियोगिता आयोजना गरिएको मादी ८ का जनप्रतिनिधि एवम् सोंथर बेँसी विकास समितिका अध्यक्ष समेत रहेका ओम प्रकाश गुरुङले बताएका छन् ।

सोंथर बेँसी कृषि र पर्यटनको ठुलो सम्भावना रहेतापनि प्रचारप्रसारको अभावमा पछि परेको भन्दै समय समयमा यस्ता विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरु गरिराख्नु पर्ने गुरुङले बताए ।

लम्तरी डाँडा र सबुपोखरी डाँडा जस्ता आकर्षक र एतिहासिक महत्व बोकेको डाँडाको फेदमा वार्दी खोला संगै लामो क्षेत्रफलमा फैलिएको छ सोंथर बेँसी । सबुपोखरी डाँडामा रहेको ताल हो । उक्त पोखरी तालको पानी जस्तो सुकै खडेरी लाग्दा समेत नसुक्ने र जस्तो सुकै ठुलो पानी पर्दा समेत बगेर नजाने विशेषता रहेको पाइन्छ । सो ताल वरिपरी डाँडामा पुस माघ तिर पानी पर्दा हिउँ पर्छ भने चैत बैशाखतिर विभिन्न थरीका लालीगुराँसहरु फुल्ने गर्छन् । त्यस्तै लम्तरी डाँडामा समेत विभिन्न थरीका लालीगुराँस फुल्ने गर्छन् भने सो डाँडामा पहिले बाइसे चौबिसे राजाहरुको पालामा दरबार बसेको किम्ब दन्ती रहेको पाइन्छ । त्यहाँ हाल ब्यवस्थित लम्तरी माईको मन्दिर समेत निर्माण गरिएको छ भने त्यहाँ पुगेका पर्यटकका लागी धर्मशाला ठाँटी र खानेपानी तथा बिजुलीको समेत ब्यवस्था रहेको छ । त्यस्तै सोंथर बेँसी नजिकै मिजुरेको आकर्षक भालेचुचुरा डाँडा समेत रहेको हुँदा निकट भविष्यमा सोंथर बेँसी , लम्तरी, सबुपोखरी , भालेचुचुरा, मिजुरेडाँडा, क्रपुडाँडा लगायत लाई समेटेर इको टुरिजम पुर्वाधारको रुपमा ब्यवस्थित ट्रेकिङ रुट समेत विस्तार गरी सो क्षेत्रमा पर्यटन प्रवर्धन गर्न सकिने गुरुङ्ले बताएका छन् ।

यस अघि सोंथर बेँसी विकास समितिको आयोजनमा २०७९ फागुन १ ,२ र ३ गते एतिहासिक सोंथर बेँसी टारी बजार मेला समेत सम्पन्न गरिएको थियो ।

३५ वर्स अघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेला थप परिस्कृत गर्दै पुन ३५ वर्स पछि आयोजना गरिँदा गाउँबासीहरु निकै खुशी भएको र मेलाले सोंथर बेँसी लगायत सो क्षेत्रको राम्रो प्रचार गरेको सोंथर बेँसी विकास समितिकी कोषाध्यक्ष रमा क्षेत्रीले बताएकी छिन् ।

पोखरा बाट ३० किलोमिटरको दुरीमा पर्ने सोंथर बेँसी विभिन्न ठाउँहरु बाट सजिलै पुग्न सकिन्छ । पोखरा -२६ बिजयपुर बाट कालिका सौरे भगवतीटार हुँदै थुम्सीकोट २० किलोमिटरमा पुगिन्छ । पोखरा -१३ भद्रकाली चोक बाट काहुँखोला कसेरी चितेपानी भैंसे तारकाङ बेँसी बाट भगवतीटार हुँदै थुम्सीकोट १८ किलोमिटरमा पुगिन्छ । त्यस्तै पोखरा -३१ बेगनास बाट स्याङखुदी सौरे भगवतीटार हुँदै थुम्सीकोट १६ किलोमिटरमा पुगिन्छ । त्यस्तै लमजुङको भोर्लेटार करापुटार बाट कल्याङबेँसी हुँदै मुग्रीबेँसी भएर पनि थुम्सीकोट पुगिन्छ । थुम्सीकोट बाट मकैखोला कयारे ढोडेनी भाचोक लुम्दी गाउँ हुँदै १० किलोमिटरमा सोंथर बेँसी सजिलै पुगिन्छ । हाल पोखरा बाट सोमबार र शुक्रवार गरी हप्ताको २ दिन सोंथर बेँसी बस समेत सन्चालन भएको सोंथर बेँसी विकास समितिका सचिव डिल्लीराज गिरीले बताए । ८ गतेबाट हुने फुटबल कार्यक्रम अवधिभर भने पोखराबाट नियमित बस आवतजावत हुने गिरीले बताए ।

सोंथर बेँसीमा हाल फार्महाउस तथा होमस्टेहरु समेत सन्चालनमा रहेको छ । ठुलो टारी फाँटमा फैलिएको सोंथर बेँसी नजिकै लेक बाट बगेर आएको वार्दी खोला र पशुचौपायका गोठहरु समेत रहेकोले सोंथर बेँसीमा पुगेका जोकोहि आनन्दित हुने सोंथर बेँसी विकास समितिका सल्लाहकार इमनाथ अधिकारीले बताए ।

सोंथर बेँसीमा बग्ने वार्दी खोलामा दुवाली थुनेर असला माछा मार्दै पौडी खेल्दै आनन्द लिन सकिने छ । बेँसीको सिरान देखि पुछार सम्म सबै समयमा वार्दी खोलाको पानी ल्याउन सकिने र खेतका गराहरु समेत समथर रहनुका साथै अन्नबाली समेत राम्रै फल्ने हुँदा कृषिको प्रचुर सम्भावना रहेकोले आफुहरु कृषिमा सक्रिय पुर्वक लागेको सोंथर बेँसी कृषक समुहका अध्यक्ष इन्द्र गिरीले बताए । समुहले कृषि ज्ञान केन्द्र कास्कीको विउ अनुदान सहयोगमा यस वर्स मात्रै ३ हजार केजी आलु विउ लगाई आलु उत्पादन गरी बिक्री समेत गरेको गिरीले बताए । ओमप्रकाश बाट

Advertisment