नयांगल्ली क्लबद्दारा देश्ना चन्द स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता गरिने

पोखरा, २२ वैशाख ।

पोखरामा देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० जेठ तेस्रो साताबाट सुरु हुने भएको छ ।
पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ २० देखि २७ गतेसम्म तेस्रो संस्करणको देश्ना चन्द स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए ।
उनले फुटबलको विकास गर्ने उद्देश्यले खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘हामीले खेलकुद सँगै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छौ, उनले भने, ‘फुटबल लभर नानी देश्नको स्मृतिमा यसपटक खुल्ला सेभेन ए साइड फुटबल आयोजना गर्न लागेका छौ यसले खेलकुदको विकासमा केही टेवा पुग्ने विश्वास लिएका छौ ।’
घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए । उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाट पनि गर्न सकिनेछ ।

Advertisment