अन्नपूर्ण गाउँपालिकाको दर्पण -१’ सार्वजनिक

जेठ ५ , अन्नपुर्ण । कास्कीको अन्नपूर्ण गाउँपालिकाले एक वर्षको अवधिमा भएगरेका कामको विवरण समेटेर तयार पारेको ‘अन्नपूर्ण दर्पण – १’ शुक्रबार सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव विनोदबहादुर कुँवरले ‘अन्नपूर्ण दर्पण– १’ गाउँपालिकामा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै उनले अन्नपूर्ण गाउँपालिकाले विकास निर्माण र पूर्वाधार निर्माणका लागि गरेको कामको प्रसंसा गरे ।

एक वर्षको अवधिमा १५ वटा कानून बानउनु आँफैमा महत्वपूर्ण उपलिब्धी भन्दै उनले आफू सोही स्थानको वासिन्दा भएकाले पालिकाले गरेका हरेक कृयाकलाप नियालेको र उत्कृष्ठ प्रयास गरिरहेको बताए ।

प्रत्यक्ष जनतासंग जोडिएको सरकार भएकाले स्थानीय सरकार र जनप्रतिनिधिका अपेक्षा पालिकाका जनप्रतिनिधिसंग अधिक रहको उनको भनाई छ । ‘स्थानीय सरकार जनतासंग प्रत्यक्ष जोडिएकाले स्थानीय तहको नेतृत्व प्रति जनताले निकै अपेक्षा राखेका छन् । विश्वास गरेका छन् । त्यो अपेक्षलाई पुरा गर्न सफल हुनुहोस्’ उनले भने ।

सचिव कुँवरले देशमा देखिएको आर्थिक संकटका कारण आगामी आर्थिक वर्षमा विकास बजेट पनि कम आउने हुँदा त्यही अनुरुप योजना बनाउन उनले सुझाव दिए । पूर्वाधार, कृषि, स्वास्थ्यलाई पालिकाले प्राथमिकता दिएकोमा खुःशी व्यक्त गरे । केन्द्र र प्रदेश सरकारलाई पनि आफ्रनो पालिकालाई चहिने विकास पूर्वाधारका साथै प्राथमिकताको बारेमा घच्घच्याउन उनले सुझाव दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आफूहरुले एक वर्षको अवधिमा केही राम्रा कामको सुरुवात गरेको र ति कामहरु आफ्नो कार्याकालमा सम्पन्न गर्ने प्रतिवद्धता जनाए । सबै मिलेर समृद्ध अन्नपूर्ण बनाउनुपर्नेमा जोड दिएका उनले सबैको हातेमालो विना समृद्धि सम्भव नहुने धारणा राखे ।

नेतृत्व आफैमा केही नरहेको बताएका उनले सबैले साथ दिने र सबैले जस लिने वातावरण बनाउन आँफू लागि परेको बताए । कास्कीका अन्य पालिकाको तुलनामा अन्नपूर्ण गाउँपालिका उत्कृष्ठ पालिका बनेको भन्दै उनले आफूहरुलाई दोस्रो हुने छुट नरहेको धारणा राखे । ‘हामी विकास निर्माण, पूर्वाधार निर्माण र जनतालाई सेवा प्रवाह गर्नेमा कास्कीमा पहिलो नम्बरमा छौं । हामीलाई दोस्रो हुने छुट छैन ।’ उनले भने, ‘सबैले मिलेर समृद्ध अन्नपूर्ण निर्माण गर्ने हो ।’

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा नम्बर ७ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता भरतमान गुरुङ र वडा नम्ब ५का वडाध्यक्ष जिवनाथ पौडेल लगायतले पालिकाको विकास निर्माण तथा भएका कामको बारेमा बताएका थिए । उक्त अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले भएगरेका कामको बारेमा प्रस्तुतिकरण राखेका थिए ।

Advertisment