टानले पदमार्गमा हाइकिङ र सरसफाई गरि मनायो अन्नपुर्ण दिवस

पोखरा, २१ जेठ,

पोखराका पर्यटन व्यवसायीले पदमार्गमा हाइकिङ्ग तथा सरसफाई गरि ७३ औँ अन्नपुर्ण प्रथम आरोहण दिवस मनाएका छन् ।

फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपुर्ण प्रथम हिमालमा पहिलो पाइला टेकेको दिनको सम्झनामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा कास्कीको मेलबोट देखि झिझिर्का, देउराली हुदै आस्ताम सम्मको एक दिने पदमार्गमा हाइकिङ्ग सहित सरसफाई गरि अन्नपुर्ण दिवस मनाएका हुन् । शनिबार पदमार्ग हाइकिङ्ग तथा सरसफाई कार्यक्रममा पर्यटन संग सम्बन्धित पोखरामा क्रियाशिल संघसंस्थाका पदाधिकारी तथा व्यवसायी र संचारकर्मीहरुको सहभागिता थियो । हाइकिङ्ग तथा सरसफाई कार्यक्रममा आस्तामको इको भिलेजमा पुगेर समापन भएको थियो ।

 

समापन कार्यक्रममा बोल्दै माछापुच्छ्रे गाउँपालिका का उपाध्यक्ष सीता अधिकारीले हिमालहरुको प्रवद्र्धनमा टान संग सहकार्य गरेर प्रवद्र्धनका कार्यहरु गर्ने प्रतिवद्धता जाहेर गरिन् । उनले पर्यटन क्षेत्र संग आफुँ नजिक रहेको बताउदै हिमाल र पर्यटन क्षेत्रको विकासमा आफुँ पर्यटन व्यवसायी संगै काम गर्ने बताएकी हुन् । त्यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले गण्डकी प्रदेशका हिमालमा आरोहिको संख्या बढाउन लाग्नुपर्नेमा जोड दिए । उनले पहिलो हिमाल आरोहणको थलानी गरेको क्षेत्रले हिमाल आरोहणमा पर्यटन ल्याउन नसकेको भन्दै यस तर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताए । त्यसैगरी पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्र चलयमान बनाउन हिमाल आरोहणका क्रियाकलाप बढउन आवश्यक रहेको औल्याए ।

टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीहरुले हिमाल आरोहणका लागि धेरै हिमाल भएपनि आरोहि भित्र्याउन नसकेकोमा चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरे । सन् १९५० जुन ३ तरिखका दिन मौरिस सहितको टोलीले अन्नपुर्ण प्रथमको सफल आरोहण गरेको दिनलाई पोखराका पर्यटन व्यवसायीले अन्नपुर्ण आरोहण दिवसका रुपमा मनाउदै आएका छन् ।

Advertisment