मिलेनियम ट्रेकको प्रवद्र्धन टोली सादीखोलामा

गण्डकी, २७ जेठ । सहश्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) को पुनः प्रवद्र्धन एवम् बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि हिडेको टोली आज पदमार्ग क्षेत्रको सादीखोलामा पुगेको छ ।

मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सह आयोजना एवम् प्रवद्र्धनमा सात दिने कार्यक्रमका साथ हिडेको टोलीले शुक्रबार तनहुँको दुलेगौडाबाट आफ्नो यात्रा सुरु गरेको थियो ।

शुक्रबार पदमार्ग क्षेत्रका धार्मिक पर्यटकीय स्थल ढोरबराह मन्दिर, ऐतिहासिक ढोरमूलकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको टोली साँझ रजस्थल सामुदायिक होमस्टेमा बसी होमस्टे सञ्चालक एवम् सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।

शनिबार बिहान रजस्थलबाट दोस्रो दिनको यात्रा थालेको टोलीले शुक्लागण्डकी नगरपालिका वडा नं १२मा निर्माणाधिन तमु ह्युल पार्कको अवलोकनसँगै सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । उक्त अवसरमा तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङ, गजबहादुर गुरुङ लगायतसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।

टोलीले ढोर लामागाउँ सामुदायिक होमस्टेमा पुगी उक्त होमस्टेकी अध्यक्ष उमा गुरुङ, शुक्लागण्डकी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतसँग अन्तरक्रिया गरेको थियो । टोलीले उक्त वडाकै मिलेनियम होमस्टेका अध्यक्ष कोपिला गुरुङ र घरेडी होस्टेका अध्यक्ष ठूलमाया गुरुङसँग पनि अन्तरक्रिया गरेको थियो । टोलीले आजै पदमार्ग क्षेत्रको मिलेनियम गुफा अवलोकन एवम् पुतलीबजार नगरपालिका वडा नं ७ स्थित सादी खोलामा त्यहाँका स्थानीयसँग पनि अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा पुतलीबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णबहादुर आले, टोल विकास संस्थाका अध्यक्ष सुकबहादुर थापा, आमा समुहका अध्यक्ष रेममाया थापा लगायतसँग अन्त्रक्रिया गरेको छ ।

कार्यक्रममा मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले सुस्ताएको मिलेनियम ट्रेक  पुनः जागरण एवम् प्रवद्र्धनको लक्ष्यका साथ आँफूहरू आइपुगेको बताउनुभयो ।

सह प्रा.डा.रामजी पोखरेलले होमस्टे सञ्चालनले रोजगारी समेत सिर्जना गर्ने बताउँदै मिलेनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने वातावरण सिर्जना गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटाले मिलेनियम ट्रेकको प्रवद्र्धनमा टानले सहयोग गर्ने बताउँदै मोटरबाटोका नाममा जथाभावी बाटो खोल्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले पदमार्ग क्षेत्रमा रहने चराहरू, यहाँको जैविक विविधता बारे अध्ययन भैरहेको बताउँदै ती विषयलाई पुस्तकमा समेट्ने प्रयास भएको धारणा राख्नुभयो ।

 

 

Advertisment