प्याराग्लाइडिङ्ग पाइलट र व्यवसायीलाई दुई दिने तालिम

पोखरा २० असार,

प्याराग्लाइडिङ व्यवसायलाई थप व्यवस्थित मर्यादित र सुरक्षित बनाउदै उडान संचालन गर्न नागरिक उडड्यन प्राधिकरणले व्यवसायी र पाइलटहरुलाई तालिम दिएको छ ।

विधि र प्रविधिको प्रयोग गरी प्याराग्लाइडिङ्गलाई थप सुरक्षित बनाउन र अनुगमनमा सहजता तुल्याउन आवश्यक रहेको जिपिएस ट्रयाकिङ्ग र रेडियो कम्युनिकेशन सिस्टमलाई संचालनमा ल्याउन प्राधिकरणको हवाई ट्राफिक व्यवस्थापन विभाग र सुरक्षा विभागको प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल बहादुर भट्टराईले जानकारी दिए । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा यहि असार १७ र १८ गते चलेको तालिममा नागरिक उडड्यन प्राधिकरणका हवाई ट्राफिक व्यवस्थापन विभागका प्रमुख सिताराम भण्डारीले हवाई ट्राफिक सम्बन्धि, प्राधिकरणका उपनिर्देशक देवेन्द्र प्रसाद श्रेष्ठले उडान प्रकृया उपकरण सम्बन्धि, प्रबन्धक मुकेश दाहालले हवाई यातायात संचार सेवा सम्बन्धि र चालकदल स्रोत व्यवस्थापन सम्बन्धि उडान क्षेत्रका सिनियर क्याप्टेन विनोद पुरीले प्रशिक्षित गरेका थिए ।


पोखरा अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आए संगै नेपाल नागरिक उडड्यन प्राधिकरणको निर्देशनात्मक पत्र अनुसार प्याराग्लाईडिङ्ग व्यवसायी र पाइलटहरुले उडानमा विशेष निगरानी सहित विधि, प्रविधिको प्रयोग सम्बन्धि प्रशिक्षण लिएका हुन् । प्राधिकरणले प्याराग्लाइडिङ उडानका लागि उपलब्ध गराएको एयरस्पेस भित्र मात्र उडान गर्नुपर्ने परिस्थितिलाई ध्यानमा राखी नियमन अनुगमन गर्नका लागि दुवै तरिकाको संचार र जिपिएस ट्रयाकिङ्ग सिस्टमको अबलम्बन गरी प्रत्यक्ष निगरानी गर्ने सिस्टम विकास गरिसकेको छ । प्राधिकरणले उडान सामाग्रीहरुको अवस्थालाई परिक्षण गर्न आवश्यक उपकरणहरुको व्यवस्था सहित विज्ञबाट समयसमयमा परिक्षण गरी हवाई योग्यता प्रमाणपत्र को व्यवस्था समेत गरेको छ ।

तालिममा ६० भन्दा बढी प्याराग्लाइडिङ व्यवसायी, २ सय ५० प्याराग्लाइडिङ्ग पाइलट र यस क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष अनिल केसीको संयोेजकत्वमा सम्पन्न कार्यक्रम संस्थाका महासचिव खेमराज आचार्यले संचालन गरेका थिए ।

Advertisment