अपाङ्ग आदिबासी महिलाको सवाल प्राथमिकतामा नपरेको गुनासो

काठमाडौं, असार २७ गते । आदिबासी जनजाति अपाङ्गता भएका महिलाको विषय सञ्चार माध्यममा प्राथमिकता नपाएको भन्दै सरोकारवाला पक्षहरुले गुनासो गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई सञ्चार माध्यममले प्राथमिकता नदिइरहेको अवस्थामा अपाङ्गता भएका आदिबासी महिला झन समस्यामा रहेको उहाँहरुको भनाइ छ ।

राष्ट्रिय आदिबासी जनजाति अपाङ्ग महिला संघ, नेपाल (निडवान) तथा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संयुक्त आयोजनामा आज भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरामा जोड दिनुभएको हो । अपाङ्गता भएका आदिबासी महिलाको सवाल आझेलमा रहेकाले त्यसलाई राज्यसमक्ष लग्न मिडियाले भूमिका खेल्नुपर्ने उहाँहरुको आग्रह छ ।

निडवानका अध्यक्ष प्रतिमा गुरुङले नेपालमा १३ लाख आदिबासी जनजाति अपाङ्गता भएको र सो मध्ये ७ लाख महिला रहेको बताउनुभयो । नेपालमा भएको कुल अपाङ्गतामध्ये आदिबासीको संख्या बढी रहेको उहाँको भनाइ छ । राज्यले चार वर्गमा विभाजित गरी अपाङ्गता भएकाहरुलाई परिचयपत्र प्रदान गर्ने गरेपनि ६४ प्रतिशतले अझै परिचयपत्र प्राप्त गर्न नसकेको बताउनुभयो ।

अधिकारकर्मी कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र सवालको विषयलाई मिडियाले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो । समाचार सम्प्रेषण गर्दा अपाङ्गता भएका व्यक्तिहरुको शब्दावलीमा मिडियाले खासै ख्याल गर्न नसक्दा होच्याएको महुशस हुनेगरेको उहाँले अनुभव सुनाउनुभयो ।

फोनिजको पूर्व अध्यक्ष तथा पत्रकार खीम घलेले आदिबासीका सवाललाई नेपाली मिडियाले प्राथमिकता दिन नसकिरहेको अवस्थामा अपाङ्गता भएका आदिबासी महिलाको सवाललाई प्राथमिकताका लागि सम्पादकहरुसँग छलफल र समन्वयको खाँचो रहेको बताउनुभयो । सम्बन्धित पक्षको सवाललाई सम्पादकहरुलाई बुझाउन सके मिडिया कभरेजमा सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

मिडियाकर्मी कुमार यात्रुले आदिबासीको सवाल आदिबासी पत्रकारले पनि उठाउन नसकेको बताउनुभयो । कतिपय जेन्यून विषयलाई आदिबासी पत्रकारले पनि उठान गर्न नसक्दा विषय ओझेलमा पर्नेगरेको उहाँको भनाइ छ ।

फोनिजका अध्यक्ष गजुरधन राईले आदिबासीको मुद्दा र सवालमा फोनिज र निडवानको साझा धारणा रहेकाले समन्वय र सहकार्य गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा मुद्दाको यथोचित पहिचन गरी कार्यनीति बनाएर अघि बढ्न सके सवाल उठान गर्नमा सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताहरुले आदिबासी विविध पक्षको सवालसहित अपाङ्गता भएका आदिबासी महिलाको सवाल सम्बोधनका लागि आवश्यक कार्यनीति बनाएर अघि बढ्न आवश्यक रहेको सुझाव दिनुभएको थियो । आदिबासी पत्रकारलाई पनि अपाङ्गता भएका व्यक्तिहरुको सवालबारे सचेत गराउन आवश्यक रहेको धारणा वक्ताहरुको थियो ।

Advertisment