पन्तको आत्महत्या दुरुत्साहनमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असार २८ गते । आत्महत्या दुरुत्साहन आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा अध्यक्ष, महिला सदस्यसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले भुम्लु गाउँपालिका –१ सापिङका ६८ वर्षीय ठडिन्द्रबहादुर पन्तको आत्महत्या दुरुत्साहनमा सोही वडाका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, महिला सदस्य दानकुमारी महत (खत्री) र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले ठडेन्द्रबहादुर पन्तको आत्महत्या दुरुत्साहनमा वडा अध्यक्ष श्रेष्ठसहित तीन जनालाई पक्राउ गरिएको बताउनुभयो ।

ठडिन्द्र असार १० गते लप्सीको बोटमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्षसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८५ बमोजिम मुद्दा दर्तागरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।

उहाँले आत्महत्या दुरुत्साहन मुद्दामा दुरुत्साहन दिने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको बताउनुभयो । यसैबीच ठडिन्द्रको मृत्यु भएको १७ दिन बितिसक्दा पनि अहिलेसम्म शव पोष्टमार्टम हुन सकेको छैन । शव पोष्टमार्टमका लागि परिवार तथा आफन्तजन नआएका कारण पन्तको शव धुलिखेल अस्पतालमा राखिएको छ ।

वि.सं. २०७५ फागुन २ गते ठडिन्द्रका श्रीमती भोजकुमारी बानियाँको नाममा रहेको एक रोपनी चार आना दुई पैसा क्षेत्रफलको जमिनबाट गाउँमा रहेको भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि तीन आना जग्गा ३० हजार रुपियाँमा उपलब्ध गराउने सहमति भएको थियो ।

समूहलाई जग्गा दिने सहमतिपछि ठडिन्द्रको परिवारका सदस्यले सस्तोमा जग्गा दिएको भन्दै परिवारमा विवाद हुँदैआएका कारण ठडिन्द्रले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले घटनाको अनुसन्धान सुरु भएको र अनुसन्धानपछि मात्रै यथार्थ विवरण आउने जनाएको छ । साभार – गोरखापत्र अनलाइन

Advertisment