नेपाली टमाटर धमाधम भारततिर

भैरहवा, भदौ ४ गते । भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको टमाटर भारतीय बजारमा पुगेको छ । भैरहवा नाकाबाट नेपाली टमाटर आधिकारिक रुपमा भारत निकासी भएको यो पहिलो पटक हो ।

डायमण्ड इन्टरनेशनल सिद्धार्थनगरले नेपाली टमाटर भारत उत्तर प्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई उपलब्ध गराइ निर्यातको गरेको हो । नेपाली टमाटर भारत निकासी हुँदा सीमावर्ती भारतको भन्सारमा बिना महसुल निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि यसको निकासीमा कुनै शुल्क लाग्दैन ।

डायमण्ड इन्टरनेशनल सिद्धार्थनगरका सञ्चालक सोनु खानले भैरहवामा आउने गरेको सल्यानको कपुरकोटमा उत्पादित नेपाली टमाटर भैरहवादेखि भारत निकासी गरिएको बताउनुभयो । “भारतबाट माग भए अनुरुप नेपाली टमाटर उपलब्ध गराउनै सकिएको छैन”, खानले भन्नुभयो, “यतिबेला लखनउ, गोरखपुरका व्यापारीले नेपाली टमाटरको माग गरेका छन् तर माग गरेअनुरुप टमाटर उपलब्ध गराउन सकिएको छैन ।” उहाँका अनुसार नेपाली टमाटर भारतमा प्रतिकिलो भारु एक सय रुपियाँमा विक्री हुने गरेको छ । यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचीमा टमाटर पनि समावेश गरेको थियो । भारतमा टमाटरको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महँगोमा विक्री हुने भएकाले सीमावर्ती नेपालबाट अवैध तरिकाबाट नेपाली टमाटर भारत जाने गर्दथ्यो ।

भैरहवा भन्सार कार्यालयका अनुसार गत साउन २८ गतेदेखि नेपाली टमाटर भैरहवा नाकाबाट भारत जान थालेको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराइले एक सातामा भैरहवा नाकाबाट तीन पटक गरेर सात मेट्रिक टन नेपाली टमाटर भारत निकासी भएको बताउनुभयो ।

नेपाली टमाटर भारत निकासी हुँदा सीमा नाकामा रहेको नेपाली क्वारेन्टाइन कार्यालयबाट रोग कीरा नभएको प्रमाणित गर्नुपर्ने प्रावधान छ । “यस नाकाबाट औपचारिक रुपमा नेपाली टमाटर भारत निकासी हुन थालेको यो पहिलो पटक हो”, प्लान्ट क्वारेन्टाइन बेलहिया रुपन्देहीका प्रमुख कुलदीप घिमिरेले भन्नुभयो । फाइल तस्विर

Advertisment