पोखरा, २१ भदौ,
जिल्ला ट्राफिक कार्यालय कास्कीको अनलाईन सर्भर नचल्दा सेवाग्राहीले तिन दिन देखि दुःख झेल्नुपरेको छ।
ट्राफिक कार्यालयको अनलाइन सर्भर नचलेपछि राष्ट्रिय वाणिज्य बैंकमा जरीवना तिर्नेहरुको भिड लागेको छ । कार्यालयले अनलाईन भुक्तनीका लागि प्राविधिक मर्मत सम्भार भइरहेको बताउदै तिन दिन देखि सवारीधनीलाई बैंकमै पुगेर भुक्तनी गर्न भनेको छ । ट्राफिक नियम उल्लघन गरि जरीवना भुक्तनीका लागि ट्राफिक कार्यालय कास्कीको कार्यालय पुगेका सवारीधनीलाई घण्टौँ लाइन बस्नुपर्ने पिडा एका तिर छ भने पटक पटक बैंक र कार्यालय धाउनुपर्ने बाध्यता अर्को तिर छ । यत्तिबेला जरीवनामा परेका सवारीधनी ट्राफिक कार्यालय पुगेर ट्राफिक प्रहरीले दिएको चिटमा जरीवना रकम तोक लागेपछि बैंकमा गएर उक्त रकम दाखिला गरेपछि पुनः कागजपत्र लिन ट्राफिक कार्यालय नै जानुपर्ने हुन्छ । तर यो कार्य सहज भने छैन । ट्राफिक कार्यालयमा जरीवना रकम तोकका लागि लाइन र बैंकमा पुगेर दुई पेजको भौचर भरेर रकम दाखिला गर्नुपर्ने झण्झट र घण्टौँ लाइन बसेर पालो आउँदा बैंकको कर्मचारीले दर्ता नै नरहेको भनि फर्काइदिदाको पिडा झनै असह्य रहेको पोखरा ८ का मन बहादुर गुरुङले बताए । “सुचनाप्रविधिको विकास भईसक्दा पनि लाइन लागेर बस्नुपरेको छ, एउटा बिग्रिए अर्को विकल्प प्रयोग गर्ने गरि राख्न सक्नुपर्यो” उनले भने । सामान्य जरीवना स्वारुप ५ सय रुपैयाँ बुझाएर आफ्नो सवारीको कागजपत्र बुझन उनलाई दिनभर लाग्यो । “कहिले गोलघर जाऊ भन्छन कहिले बंैक जाऊ भन्छन कहिले बैदममा छ कागजपत्र भन्छन यता उता गर्दा एक दिन लाग्यो” उनले भने । साधान नभएकालाई त झनै समस्या रहेको उनले सुनाए ।
ट्राफिक कार्यालयले जरीवना रकम नतोकिदा दूई पटक ओहोरदोहोर गरेको एक चालकले बताए । जानअञ्जान नियम उल्लंघन भए बापत तिर्नुपर्ने जरीवाना तिर्न भन्दा ट्राफिक कार्यालयको व्यवस्थापनका कारण दुःख पाइरहेको उनले बताए । सर्भरमा आएको समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली समेत अवरुद्ध बनेको छ । सर्भरमा समस्या कास्कीमा मात्रै नभई देशैभर देखिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए । एउटै सर्भर प्रयोग गरिने हुनाले अन्य ठाँउमा पनि नचलेको हुनुपर्छ उनले भने । उनले सर्भर सुस्त चलेका कारण सहज रुपमा सेवा दिन नसकिएको स्वीकारे । मंगलबार नेपाल प्रहरीको फेसबुकबाट प्राविधिक मर्मतसम्भार भइरहेको सुचना जारी गरेको थियो । सर्भर कहिले बन्छ भन्ने टुंगो अहिले सम्म छैन । सर्भर मर्मतमा भइरहेको ढिलाईले अझै केहि दिन सेवाग्राहीले दुःख पाउने देखिन्छ ।