पौष ४, पोखरा,
नेपाली कांग्रेसको पहिलो गण्डकी सम्मेलन विभिन्न प्रतिवेदन पास गर्दै सकिएको छ ।
हिजो देखि पोखरामा शुरु भएको सम्मेलन आज बेलुका सकिएको हो । सम्मेलनको आज भएको बन्दसत्रमा प्रस्तुत प्रदेश सभापति शुक्रराज शर्माले प्रस्तुत गरेको अवधारणापत्र, महामन्त्री किरण बहादुर श्रेष्ठको सांगठानिक प्रतिवेदन, महामन्त्री विष्णु प्रसाद लामिछानेले राजनितिक प्रतिवेदन र कोषध्याक्ष बसन्तकुमार श्रेष्ठको आर्थीक प्रतिवेदन माथी छलफल गरि सर्वसम्मत पारित गरेको छ ।
बन्दसत्रमा ३६ जना प्रतिनिधीले बोलेका थिए भने १२ जनाले लिखित रुपमा सुझाव पेश गरेको कांग्रेस गण्डकी प्रदेश प्रवक्ता माधवप्रसाद बास्तोलाले जानकारी दिए । सम्मेलनमा राजनितिक र सांगठनिक प्रतिवेदनमा पेश भएका संघीयता बारे प्रदेशलाई विशेषाधिकार दिनुपर्ने, टिकट वितरण प्रदेशको अधिकार हुनुपर्ने, विधानमा द्धिपदिय व्यवस्था संशोधन गर्नुपर्ने, धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता राख्नुपर्ने लगायतका सुझाव महासमिति बैठकमा पठाउने निर्णय गरेको उनले बताए । सम्मेलनमा केन्द्रीय सदस्यहरु, पुर्वमन्त्रीहरुले समेत सुझाव दिएका थिए । गण्डकी प्रदेशका ११ जिल्लाका पाँच सय प्रतिनिधीको सहभागिता रहेको सम्मेलनले संगठनलाई मजबुत बनाउन लाग्ने संकल्प समेत गरेको गण्डकीका प्रचारविभाग सदस्यसचिव राज बहादुर गृुरुङले जानकारी दिए । सम्मेलनको हिजो कांग्रेस सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका थिए । देश संघियतामा गए पछि कांग्रेस गण्डकीको यो पहिलो प्रदेश सम्मेलन हो ।