माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि बौदीकालीलाई

पौष २८, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाले जितेको छ ।

माछापुच्छ्रे ३ घाचोकमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो ।

उपाधि जितेको बौदीकालीले नगद रु तीन लाख,ट्रफी र मेडल पुरस्कार पायो भने उपविजेता गलकोटले रु दुई लाख तथा ट्रफीमा चित्त बुझायो ।
किबौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो भने यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल पुगेको हो ।

सेमिफाइलन पुगेका अन्नपूर्ण र चापाकोटले रु ५० हजारका दरले पुरस्कार पाए । बौदीकालीका अशोक श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु सात हजार पुरस्कार पाउनुभयो ।

यसैगरी उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर बौदीकालीका विश्वास अधिकारी, उत्कृष्ट सर्भर बौदीकालीका आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित हुँदै उहाँले जनही नगद रु पाँच हजार पुरस्कार पाउनुभयो ।

प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गर्नुभयो ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।
यही पुस २६ गतेदेखी घाचोकको मेघराज आधारभुत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । खेल हेर्न माछापुच्छ«े सहित पोखरा तथा छिमेकी अन्य पालिकाहरुबाट समेत दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisment