पुर्बअर्थराज्यमन्त्री राणा घान्द्रुकमा, सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै जानुमा शैक्षिक स्तर घट्नु नै रहेको भनाई

१७ फागुन, पोखरा ।
 पूर्व अर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य उदय शम्शेर राणाले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दै जानुमा शैक्षिक गुणस्तर घट्नु नै मुख्य कारक रहेको बताउनुभएको छ । बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकमा रहेको श्री मेश्रम बराह माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोहमा बोल्नुहुंदै राणाले सो कुरा बताउनुभएको हो ।
पुर्बअर्थराज्यमन्त्री राणाले सरकारले शैक्षिक सुधारका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुहुंदै विद्यालय प्रशासन, अभिभावक, स्थानीय तह र अन्य सरकारी निकायले शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई अगाडि बढाउनुपर्ने खाँचो समेत औंल्याउनुभयो ।
 २००६ सालमा स्थापना भएको श्री मेश्रम वराह माध्यमिक विद्यालयले भव्य रुपमा हीरक जयन्ती मनाएको हो । नेपाली कांग्रेस कास्कीका तत्कालीन सभापति धिरबहादुर गुरुङले सो विद्यालय स्थापना गरेको र त्यस बेला विद्यालय स्थापना स्वीकृतीमा शिक्षा विभागका (शिक्षामन्त्री) शिक्षा डाइरेक्टर जनरल मे.ज.मृगेन्द्र शमशेर जबराले सहयोग गर्नुभएको बताईन्छ ।
 आफ्नै हजुरबुबाले स्थापनाका लागि अनुमति दिएको उक्त विद्यालयको हीरक महोत्सवमा पूर्वअर्थराज्यमन्त्री एवं कांग्रेस नेता राणा प्रमुख अतिथीकारुपमा सहभागी हुनुभएको हो । घान्द्रुक क्षेत्र जलविद्युत र पर्यटनका क्षेत्रमा निकै नै सम्भावना बोकेको ठाउँ रहेको, प्रत्येक बर्ष आयोजना हुने अन्नपूर्ण म्याराथनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिएको राणाले चर्चा गर्नुभयो ।
 स्थापनाको ७५ वर्ष पुरा गरेको मेश्रम विद्यालयमा अहिलेसम्म करिब २० हजार बढि विद्यार्थीले अध्ययन गरिसकेको, विद्यालयमा अध्ययन गरेका पृथ्वीमान गुरुङ अहिले गण्डकी प्रदेश प्रमुख रहनुभएको लगायतका बिषयमा समेत चर्चा गरिएको थियो ।
श्री मेश्रम वराह माध्यमिक विद्यालयमा हाल ३०० विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ । पुर्ब अर्थराज्यमन्त्री राणा समापन समारोहमा सहभागी हुन बुधबार दलबल सहित घान्द्रुक पुग्नुभएको र त्यहांका पुराना घरहरु, म्युजियम लगायत पुराना संरचनाको अवलोकन समेत गर्नुभएको कांग्रेस क्षेत्रिय सभापति मनोज गुरुङले जानकारी दिनुभएको छ ।
Advertisment