भदौरेको थामडांडामा जिप दुर्घटना, दुईको मृत्यु, १० घाईते

चैत १८,
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेको थामडांडामा जिप दुर्घटना भएको छ ।  दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएको वडा सदस्य बिजय गुरुङले युनाईटेड खबर लाई जानकारी दिनुभएको छ ।

आइतबार दिउंसो करिब ३:३० बजेको समयमा पोखराबाट भदौरे हुंदै सल्यान जानेक्रममा ग १ ज ५५४७ नम्बरको जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पोखरा महानगरपालिका २३ कार्कीतगरा बस्ने ५५ बर्षिय लक्ष्मण सुनार र पोखरा २३ ठुलाखेत बस्ने ५२ वर्षिय जयराम सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते ६ जनाको मणिपाल शिक्षण अस्पताल र ४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिपका चालक अन्नपूर्ण गाउँपालिका ४ बस्ने २२ वर्षिय धनराज सुनार, पोखरा २३ का ५८ वर्षिय लक्ष्मण कामी, सल्यानका ७ वर्षिय आरुष बिक र सोही ठाउँकै ४१ वर्षिय राजकुमार बिकको उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी दुर्घटनाका घाइते मध्ये भदौरे सल्यानका ३५ वर्षिय प्रकाश सुनार, सोही ठाउँकै ३५ वर्षिय सुशिला सुनार, १५ वर्षिय सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार, पोखरा २ बस्ने ६० वर्षिया राम प्रसाद सुनार र अन्नपूर्ण गाउँपालिका ४ बस्ने ५० वर्षिय देउमाया केसीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र वहांहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisment