गण्डकीका मुख्यमन्त्री पाण्डेद्दारा राजीनामा

पोखरा, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज  भट्टलाई भेटेर पाण्डेले राजिनामा पत्र बुझाउनुभएको हो । गत बैशाखमा माओबादी सहितको गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका पाण्डे माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै गत फागुन २३ देखि अल्पमतमा पर्नुभएको थियो ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसंगै अल्पमतमा रहनुभएका मुख्यमन्त्री पाण्डे २२ चैतभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान रहेको छ । तर वहांले विश्वासको मत नलिई राजीनामा दिनुभएको हो ।

प्रदेश प्रमुख भट्टले  संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुहुनेछ ।

बर्तमान केन्द्रिय सत्ता गठबन्धनले बहुमत जुटाएर दावी पेस गर्न सक्ने अवस्था नरहेका कारण पनि सबैभन्दा ठुलो दलको हैसियतले प्रदेश प्रमुखले नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका सुरेन्द्रराज पाण्डेलाई नै संबाधानको उपधारा (३) अनुसार फेरि मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ सम्म सरकार गठन गर्न वा सरकार ढलाउन कुनै भुमिका नखेल्ने स्पष्ट पारिसकेको छ। तसर्थ बर्तमान सत्ता गठबन्धनबाट बामपन्थीहरुको सरकार बन्ने सम्भावना तत्काल देखिंदैन ।

केन्द्रिय सत्ता सत्ता गठबन्धन बाट सरकार बन्ने भएमा गण्डकीमा एमालेलाई मुख्यमन्त्री दिने र एमालेबाट संसदिय दलका नेता खगराज अधिकारी मुख्य मन्त्री हुने सहमति भएको थियो ।

 

 

Advertisment