गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

चैत २५, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्मन्त्री नियुक्त गरेको पत्र दिएको बताईएकाे छ ।

यसअघि मुख्यमन्त्री रहेका कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा गरेका थिए। सोही दिन प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न २ वा २ भन्दा बढी दलको बहुमतसहित मुख्यमन्त्रीमा दाबीका लागि आह्वान गरेका थिए।

अधिकारीले एमाले,माओवादी र नेकपा एसको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए। गण्डकीमा एमालेका २२,माओवादीका ८ र नेकपा एसका १ सांसद छन्। नेकपा एसका राजीव गुरुङ, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले  अधिकारीलाई आफूहरुको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष आफुलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

साेही दावी अनुसार प्रदेशप्रमुखले धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री अधिकारीको सपथ आइतबार दिउसो साढे तिन बजेको लागि तय गरिएको बुझिएको छ ।

Advertisment