राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधी नेपाल आर्मीलाई

पोखरा, १२ असार,

पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधी नेपाल आर्मी क्लबले जितेको छ ।

नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा पोखरामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आर्मीले विभागिय क्लब नेपाल पुलिसलाई ५(१ गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि रोमन राणाले खेलको ९ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएपनि खेलको अन्तिम सम्म पुलिसले त्यसलाई कायम राख्न सकेन । खेलका १३ औँ मिनेटमा आर्मीका प्रदिप राजवंशीले गोल गर्दै खेललाई बराबरीमा गर्न सफल भए । त्यस लगत्तै आर्मीका प्रदिप र दिपेन्द्र अयरले लगतार चार गोल थपेपछि खेल ५(१ गोल अन्तरमा टुंगियो ।

उपाधी जितेको आर्मीले नगद ५० हजार, उपविजेता नेपाल पुलिसले नगद ३० हजार र तृतिय स्थान हासिल गर्न सफल गण्डकी प्रदेशले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आर्मीका प्रदिप राजवंशी वेष्ट स्कोरर बने प्लेयर अफ दि टुर्नमेण्ट आर्मी कै दिपेन्द्र अयर बने । त्यसैगरी प्लेयर अफ दि म्याच नेपाल आर्मीका मनोज चौधरी, वेष्ट गोलकिपर पनि आर्मी कै पुरन ओली र वेष्ट डिफेण्डर पनि आर्मी कै रोशन चौधरी बने । त्यसैगरी इर्मेजिङ्ग प्लेयर भने कर्णाली प्रदेशका सुशान्त रोकाय बने । असार १० गते देखि शुरु भएको प्रतियोगितामा विभागीय दुई नेपाल आर्मी र नेपाल प्रहरी र ६ वटा प्रदेशका टीमको सहभागिता रहेको छ ।

Advertisment