काठमाडौं । बिगत आठ महिनादेखि रिक्त रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोरखाका रेशम गुरुङ नियुक्त हुनुभएको छ । प्रतिष्ठानको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । अध्यक्षले उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था बमोजिम प्रतिष्ठानको उपाध्यक्षमा प्रधानमन्त्री केपि ओलीले गुरुङलाई नियुक्ती गर्नुभएको हो । प्रतिष्ठानको उपाध्यक्ष कार्यकारी रहने ब्यवस्था रहेको छ ।
संघीय मामिलामन्त्री राजकुमार गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिमा आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा र सञ्चालक परिषदको तर्फबाट सत्यनारायण डंगोल सदस्य रहनुभएको थियो ।
तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहनुभएका गुरुङ आदिवासी जनजाति आन्दोलनमा कृयाशिल हुनुहुन्छ । गत जेठ ११ गते उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि प्रतिष्ठानमा उपाध्यक्षको पद रिक्त थियो ।