पोखरा, पुष ४ । सिचुआन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरामा पहिलो पटक फेवा संवाद–२०२४ सुरु भएको छ। “विश्वव्यापी औद्योगिक स्थानान्तरणका सन्दर्भमा दक्षिण एसियाका विकल्पहरू” विषयवस्तुमा आधारित यस संवादको उद्घाटन नेपालकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको पनि विशिष्ट उपस्थिति रहेको थियो।
क्षेत्रीय सहकार्य र औद्योगिक स्थानान्तरणका सम्भावना बिषयक
फेवा संवादले दक्षिण एसियाका देशहरूको विकास चुनौती र अवसरबारे गहन छलफल गर्न शैक्षिक, नीतिनिर्माता, र उद्योग क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकत्रित गरेको बताइएको छ । यस संवादमा चीन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान लगायतका १० देशका १०० भन्दा बढी विज्ञहरूको सहभागिता रहेको छ।
सिचुआन विश्वविद्यालयका उपाध्यक्ष प्रोफेसर याओ लेयेले दक्षिण एसियामा प्रचुर श्रमशक्ति, युवा जनसंख्या, र सुधार हुँदै गरेको पूर्वाधार जस्ता विशेषताहरू रहेको बताए। तर, हरित विकास र डिजिटल अर्थतन्त्रका क्षेत्रमा थप प्रगति आवश्यक रहेको उनले औंल्याए।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका दुई छिमेकी, चीन र भारत, देशको विकासका लागि महत्त्वपूर्ण साझेदार भएको बताइन्। उनले ऊर्जा, कृषि, पर्यटन, आईटी सेवा, जडीबुटी उत्पादन, र वन उत्पादलाई नेपालको तुलनात्मक लाभका क्षेत्रका रूपमा प्रस्तुत गरिन्।
चिनियाँ राजदूत चेन सोङले दक्षिण एसियाको क्षेत्रीय आर्थिक एकतालाई प्रोत्साहन गर्न आन्तरिक सुधार र खुलापन अपरिहार्य रहेको उल्लेख गरे।
प्रमुख छलफलका विषयहरू
फेवा संवादको बहुआयामिक सत्रमा यी मुख्य विषयवस्तुमा छलफल हुनेछन्:
• “दक्षिण एसियामा विश्वव्यापी औद्योगिक स्थानान्तरणको प्रभाव”
• “दक्षिण एसियाको औद्योगिकीकरण: विगत, वर्तमान र भविष्य”
• “हरित विकास र डिजिटल अर्थतन्त्र: अवसर र चुनौतीहरू”
• “पूर्वी र दक्षिणपूर्वी एसियाको अनुभव: समन्वित विकास”
• “दक्षिण एसियाका विकास रणनीति: नयाँ अवधारणा र नयाँ मार्ग”
• “वैश्विक परिवर्तन र नेपालका अवसरहरू”
त्रिभुवन र सिचुआन विश्वविद्यालयबीचको सहकार्य
त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयले सन् २०१५ मा सम्झौता गरी शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई अघि बढाएका छन्। हालसम्म १२० भन्दा बढी नेपाली विद्यार्थी सिचुआन विश्वविद्यालयमा अध्ययन गरिसकेका छन्।
सहभागीहरूको उत्साहपूर्ण सहभागिता
कार्यक्रममा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३८ जना विज्ञहरू सहभागी भएका छन्। नेपालका प्रतिष्ठित राजनीतिज्ञ, शिक्षाविद्, र नीति निर्माता, जसमध्ये पूर्वमन्त्री कमल थापा, डा. युवराज खतिवडा, प्रदीप ज्ञवाली, डा. प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दीपेन्द्र क्षेत्री र डा. गोविन्दराज पोखरेलको उत्साहजनक सहभागिता रहेको छ।
संवादले दिने सन्देश
फेवा संवादले दक्षिण एसियाली देशहरूले साझा चुनौतीहरूको समाधान र औद्योगिक स्थानान्तरणका अवसरहरूको उपयोग गर्न सहयोग र संवादलाई सशक्त बनाउने अपेक्षा गरेको छ।
यस संवादले नेपालको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई प्रोत्साहन गर्दै क्षेत्रीय सहकार्यको नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।