रबि लामिछाने बिरुद्द अदालतमा मुद्दा पेश, पत्नी निकिता पनि प्रतिवादी कायम

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दा दर्ता गरेको र मुद्दा दर्ता गर्ने समयमा लामिछानेलाई पनि अदालतमा लगिएको थियो ।

नेपाल सरकारका पूर्व उपप्रधान एबम गृहमन्त्री समेत रहिसक्नुभएका लामिछाने गत कार्तिक २ गतेदेखी प्रहरी हिरासतमा रहि अनुसन्धान भईरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ गरिएको भएपनि हाल उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दर्ता गरिएको हो आठपटकसम्म म्याद थपेर अनुसन्धान गरेको प्रहरीले आफ्नो प्रतिबेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालतमा मुद्दा दर्ता गर्न लगिएको हो ।

कास्की जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरे अनुसार  मुद्दा दायर गर्न लागेको हो । प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रुपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ । सहकारी ठगी प्रकरणमा उनीविरुद्ध फरक फरक तीन कसुरमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

उनका अनुसार पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरुद्ध कसुर बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ ।

यसैबीच सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको बताइएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले संचारकर्मीलाई जानकारी दिनुभएको छ ।

Advertisment