पोखरा । २०६८ सालबाट शुरुवात गरेको भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको चौधौं संस्करण यहि माघ १५ गतेबाट पोखराको बगरस्थित टुडिखेल फुटबल मैदानमा हुने भएकोछ । अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा यसपटक ३९ टिमको सहभागिता रहने र प्रतियोगिता माघ २१ गतेसम्म चल्ने छ।
प्रतियोगिता सम्पन्न गर्न बगर भाईखलक संस्थाका उपाध्यक्ष यामबहादुरगुरुङले संयोजक रहेको १ सय १ सदस्यीय मूल समिति र विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ देश बिदेशमा पुगेका साथीहरु, विभिन्न व्यक्ति र संस्था, उद्योगी, ब्यबसायी लगायत विभिन्न क्षेत्रबाट सहयोग संकलन गरेर प्रतियोगिता सम्पन्न गर्ने लक्ष राखिएको छ।
आयोजक बगर भाईखलक पोखराले पत्रकार सम्मेलन गरि दिईएको जानकारी अनुसार पोखराको टुडिखेल फुटबल मैदानमा हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्ष उमेर समुहमा १९ टिम, ५० वर्ष उमेर समूहमा १४ टिम र ६० वर्ष उमेर समुहमा ६ वटा टिम गरेर ३९ वटा टिमको बिचमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
बगर भाइखलकका निवर्तमान अध्यक्ष दिल बहादुर गुरुङले प्रतियोगिताका विजयीहरुलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको जस अनुसार ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख र उप विजेताले १ लाख रुपैया नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ /५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने जानकारी दिनुभयो ।
यसैगरी ५० वर्ष उमेर समूहतर्फ विजेताले १ लाख र उप विजेताले ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ६० वर्ष उमेर समूहतर्फ विजेताले ५० हजार र उप विजेताले ३० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको तीनवटै विधाको हरेक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने महासचिब मानकाजीगुरुङले जानकारी दिनुभयो ।
तेर्हौं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जित्न सफल भएकोमा यस पटक कसले उपाधी जित्न सक्ला भन्ने चासो समेत बढेको संस्थाका संस्थापक गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य-सचिब एबं ओलम्पिक कमिटीका निवर्तमान उपाध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।
बगर भाइखलकले फुटबल खेल विकासमा विशेष योगदान दिने खेलाडीहरुलाई सम्मान गर्दै आएकोमा यस पटक पूर्व राष्ट्रिय खेलाडी रमेश भट्टचनलाई सम्मान गर्ने जनाएको छ । अग्रजलाई सम्मान, समकालीनलाई ब्यायाम, अनुजलाई खेल र सबैलाई स्वास्थ्यप्रति जागरुक बनाउने लक्ष अनुरुप संस्थाले प्रतियोगिता संचालन गर्दै आएको संस्थाका अध्यक्ष ईश्वर गुरुङले जानकारी दिनुभयो ।
२०६८ सालमा प्रतियोगिता शुरु गर्दा ३५ बर्ष उमेर माथिकोलाई प्रतियोगितामा समाबेश गरिएको भएपनि समयक्रम संगै त्यसलाई बढाएर ४० बर्ष पुर्याइएको र आगामी दिनमा त्यसलाई पनि बढाएर ४५ / ५० बर्ष उमेर पुर्याउने लक्ष राखिएको छ। बरु ७०/८० बर्ष उमेर भएकोलाई पनि मैदानमा उतार्ने लक्ष संस्थाले राखेको छ। उमेर बढ्दै गएपनि उनीहरुको स्वास्थ्य तन्दुरुस्त रहोस भन्ने सोचाई अनुरुप यस किसिमको सोचाई संस्थाले लिएको निवर्तमान अध्यक्ष दिलबहादुर गुरुङले दोहोर्याउनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजक चिरायु नेसनल अस्पताल काठमाडौँ रहेको छ भने सह प्रायोजकको रुपमा बगर भाई खलक युकेले २०७३ सालदेखि नै सहयोग गर्दै आएको संस्थाका सचिब गणेश सुनारले जानकारी दिनुभएको छ । प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गर्न सम्पुर्ण तयारी पुरा भएको बगर भाई खलकका कार्यसमिती सदस्य चन्द्र गुरुङले जानकारी दिनुभयो ।