
काठमाडौं । प्रहरीले शंखसहित पक्राउ परेका व्यक्तिको साथबाट बरामद भएको शंख पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको घरको रहेको खुलेको छ । जेनजी आन्दोलनका क्रममा हराएको देउवाको घरको शंखसहित काठमाडौं प्रहरीको टोलीले असोज ३० गते चितवनका विजय लामालाई पक्राउ गरेको थियो ।
बूढानीलकण्ठमै बस्दै आएका लामाको साथबाट शंखबाहेक बुद्ध मूर्ति, गणेशको मूर्ति, सिङ्गिङ बोलसमेत बरामद गरिएको थियो । लामाको साथबाट प्रहरीले आइफोन–१४ प्रो म्याक्ससमेत बरामद गरेको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शंख देउवाको घरकै रहेको खुलेको हो । प्रहरीसँगको बयानका क्रममा लामाले आफूले देउवाको घरबाट चोरी नगरेको बताएका छन् ।
अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘‘शंख देउवाकै घरको हो । तर, चोरी नगरेको, हुलमुलमा भेटेर ल्याएको बयान दिएका छन् । हामी थप अनुसन्धान गर्दैछौं ।’’
प्रहरीका अनुसार, शंखको आकार देखिए पनि भित्र अन्य कुनै धातु हुन सक्ने आशंका गरिएको छ । शंखको बाहिर भने चाँदीको लेप लगाइएको देखिन्छ । बुद्ध मूर्ति, गणेशको मूर्ति, सिङ्गिङ बोलसमेत देउवाकै घरको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
भदौ २४ मा जेनजी प्रदर्शनकारीले बूढानीलकण्ठस्थित देउवाको निवासमा आगजनी गर्नुका साथै देउवा र उनकी श्रीमती तत्कालीन परराष्ट्रमन्त्री आरजु राणामाथि कुटपिटसमेत गरेका थिए । प्रदर्शनकारीको कुटपिटमा परेर दुवै घाइते भएका थिए । हाल भने देउवा चक्रपथनजिकै भाडाको घरमा बस्दै आएका छन् ।
साभार – बाह्रखरी डट कम




