पोखरा ।
म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नम्बर १ (साविक गुर्जा गाविस) निवासी पूर्व बेलायती गोर्खा सैनिक तथा प्रतिष्ठित समाजसेवी सोम बहादुर छन्त्यालको ८३ वर्षको उमेरमा निधन भएको छ । हालै मात्र बेलायत जानुभएका गुरुङको बेलायतमा नै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 
लामो समय बेलायती सेनामा सेवा गर्नुभएका छन्त्यालले सेनाबाट निवृत्त भएपछि बेलायती सेना भर्ती छनोटका लागि ‘गल्ला’ (भर्ती छनोटकर्ता) को रूपमा समेत महत्वपूर्ण जिम्मेवारी निभाउनुभएको थियो।
सेनाको सेवापछि उहाँ स्थानीय राजनीति र समाज सेवामा सक्रिय हुनुहुन्थ्यो। उहाँ साविक गुर्जा गाउँ पन्चाय र बहुदलिय ब्यवस्था पुनर्स्थापनापछि गाबिस अध्यक्ष निर्वाचित भई स्थानीय विकास र समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउनुभएको व्यक्तित्व हुनुहुन्थ्यो। विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहँदै आउनुभएका छन्त्याल पछिल्लो समय पोखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरमा बसोबास गर्दै आउनुभएको थियो। उहाँका चार छोरा बिष्णु प्रकाश छन्त्याल, बलमान छन्त्याल , पृथी बहादुर छन्त्याल र प्रकाश छन्त्याल रहनुभएको छ । त्यसैगरि दुई छोरीहरु सिता छन्त्याल र मिनु छन्त्याल हुनुहुन्छ।
बगर भाई खलकद्वारा समवेदना प्रकट
यसैबीच, पोखराको प्रतिष्ठित सामाजिक एवं खेलकुद संस्था बगर भाई खलकका आजीवन सदस्य समेत रहनुभएका वहांका छोरा बलमान छन्त्याल र परिवारलाई भेटेर बुवाको निधन प्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ।
बगर भाई खलकका निवर्तमान अध्यक्ष एवं भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ, बगर भाई खलकका संस्थापक संयोजक राम बहादुर गुरुङ र कोषाध्यक्ष रमेश श्रेष्ठ, सचिब गणेश सेन्चुरी , नेपाल लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशका अध्यक्ष जीत बहादुर गुरुङ लगायतको टोलीले दिवंगत छन्त्यालको सुपुत्र बलमान छन्त्याल लगायत शोक सन्तप्त परिवारजनलाई भेटेर श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको थियो ।
१ मिनेट मौन धारण सहित दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा बगर भाई खलकको तर्फबाट हार्दिक समवेदना प्रकट गरेको थियो ।




