पोखरामा हेल्दी हार्ट नेपालको मुटु सम्बन्धी अभिमुखीकरण सम्पन्न

युनाईटेड खबर,

पोखरा, २० असार ।

मुटुरोगको रोकथाम, समयमै पहिचान तथा गुणस्तरीय उपचारका लागि सरकार, स्वास्थ्य संस्था, विशेषज्ञ चिकित्सक र समुदायबीचको सहकार्य थप सुदृढ बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

हेल्दी हार्ट नेपाल र गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा पोखरामा एकदिने मुटुरोगसम्बन्धी समीक्षा तथा ‘गण्डकी हार्ट मिट–२०२६’ भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरूले मुटुरोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार आवश्यक रहेको औँल्याए।

नीतिगत तह र सरकारी प्रतिबद्धता

कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुटुरोग अहिले विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा देखा परेको उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले यसको रोकथाम र प्रभावकारी उपचारका लागि सबै पक्षको सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिँदै गण्डकी प्रदेश सरकार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। मुख्यमन्त्री पाण्डेले स्वास्थ्य जस्तो बिषयमा प्रदेश सरकार संधै जनताको पक्षमा काम गरिरहने र पोखरामा हुने भनिएको जग्गाको स्वामित्वको बिषयमा संघ सरकार गम्भिर बन्नुपर्ने समेत उल्लेख गरेका थिए ।

त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले गरिने स्वास्थ्य सेवामा मुटुरोग रोकथामका लागी बिशेष समिक्षा र पहल गरिंदै आएको जानकारी गराए ।  प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले बर्षौंदेखि जगडिएको स्वास्थ्य क्षेत्रलाई फास्टट्राकमा सुधार्न बर्मान सरकार द्रुत गतिमा अघि बढेको बताउंदै मुटुरोग रोकथामका लागी आफ्नो पहल रहने प्रताबद्दता जनाए ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मुटुरोगले समाजमा पारेको गम्भीर प्रभाव, विद्यमान स्वास्थ्य नीति र यस क्षेत्रका चुनौती तथा समाधानका उपायबारे आफ्नो धारणा राखेका थिए।

“यस्ता समीक्षा कार्यक्रमले चिकित्सकहरूबीच ज्ञान, अनुभव तथा उपचारमा प्रयोग भइरहेका नवीनतम प्रविधिबारे विचार आदानप्रदान गर्ने अवसर दिने मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले बताए । उनले भने यसले चिकित्सकहरूलाई नयाँ उपचार पद्धतिबारे अद्यावधिक हुन र बिरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुर्‍याउँछ।”

नवीन प्रविधि र उपचार पद्धतिबारे चिकित्सकहरूको गम्भीर समीक्षा

मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको समन्वयमा भएको उक्त कार्यक्रममा काठमाडौँबाट आएका आधा दर्जन वरिष्ठ चिकित्सकहरू तथा पोखराका स्थानीय चिकित्सकहरूले आ-आफ्नो प्राविधिक प्रतिवेदन र कार्यपत्र प्रस्तुत गरेका थिए ।

Screenshot

विशेषज्ञ चिकित्सकहरू मिलेर मुटुसम्बन्धी जटिल रोगहरूको उपचार कसरी गर्ने, चिकित्सा क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरू के-के हुन् र बिरामीको ज्यान कसरी जोगाउने भन्ने विषयमा गम्भीर प्राविधिक समीक्षा गरेका थिए।

जीवनशैली र जनचेतनामा बहस

कार्यक्रममा विभिन्न तहमा कार्यरत मुटुरोग विशेषज्ञहरूले मुटुरोगबाट बच्न अपनाउनुपर्ने पूर्वसावधानी, सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि तथा धुम्रपान र मद्यपानले स्वास्थ्यमा पार्ने घातक असरका विषयमा बृहत् छलफल गरे।

Screenshot

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको भौगोलिक अवस्था, यहाँको जीवनशैली, शारीरिक गतिविधि तथा मुटुरोगसँग सम्बन्धित जोखिम र समाधानका उपायबारे आफ्नो व्यावसायिक एवं सामाजिक दृष्टिकोण राखेका थिए।

अनुभव आदानप्रदान र समापन

हेल्दी हार्ट नेपाल पोखराका अध्यक्ष भरतराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवालाहरूका साथै विगतमा मुटुरोगको सफल उपचार गराई स्वास्थ्यलाभ गरेका व्यक्तिहरूले समेत उपस्थित भई आफ्ना अनुभव र धारणाहरू साझा गरेका थिए।

अध्यक्ष पराजुलीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक, अतिथि तथा सहभागीहरू प्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले मुटुरोगविरुद्ध लड्न र चिकित्सा क्षेत्रमा नयाँ सफलता हासिल गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको सञ्चालन हेल्दी हार्ट नेपालका सचिव प्रकाश जीसीले गरेका थिए ।

तस्वीर – परिचय

Advertisment