सभापति देउवाको अथक प्रयास,शालिनता र सदासयताले महाधिवेशन घोषणा

~ कल्याण गुरुङ
नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका पार्टीको विधानको धारा १७(१) अनुसार २०८२ पुष मसान्त भित्र सम्पन्न हुने गरि आउने लगभग निश्चित छ ।

यो कार्यतालिका ल्याउन धेरै दिनको अथक मेहनत तथा पार्टी भित्र रहेका सबै मतहरुलाई एकताबद्ध गर्ने उच्चतम कोशिसको प्रतिफल हो ।

कुनै पनि राजनीतिक मुद्दाको पक्ष वा विपक्षमा उभिन जति कठिन हुन्छ, त्यो भन्दा पनि कठिन र जटिल भिन्न मतहरु र दृष्टिकोणहरुलाई एकताबद्ध गरेर एउटा निश्चित निर्णयमा पुग्नु र निर्णयार्थ प्रस्ताव पेश गर्नुमा हुन्छ ।

यो भद्र सहमति निर्माण हुनु र यो निर्णय तय हुनुमा आदरणीय बर्तमान सभापति श्री शेर बहादुर देउवा र आदरणीय कार्यवाहक सभापति श्री पुर्ण बहादुर खडाका ज्यूहरुको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताको उच्चतम योगदान रहेको स्पष्ट छ ।
वहांहरुको साथसाथै पार्टीका उप- सभापति, महामन्त्रीहरु, सह-महामन्त्रीहरु, पुर्व पदाधिकारीहरु, पार्टीका नेता आदरणीय डा. शेखर कोईराला र केही केन्द्रीय सदस्यहरुको महत्वपुर्ण भूमिका रहेको छ ।

यसैले आदरणीय बर्तमान सभापति र आदरणीय कार्यवाहक सभापति ज्यूहरुको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताको सम्मान गर्दै वहांहरुले गर्नु भएको भद्र सहमतिलाई स्विकार गर्दछु र स्वागत पनि गर्दछु ।

वहांहरुको अथक प्रयासको सम्मान गर्दै वहांहरुले गर्नु भएको भद्र सहमतिलाई स्विकार गर्न र स्वागत गर्न सम्पुर्ण साथीहरुलाई अनुरोध पनि गर्दछु ।

तर, पार्टीका केही साथीहरु सहमतिको लागि भएको छलफलमा बस्ने, भद्र सहमतिको निर्णय पनि गर्ने र सहमतिको मसि सुक्न नपाउदै बाहिर गएर भद्र सहमतिको बिपरित तथानाम बोल्दै हिडने गरेको सुनिन्छ । यो प्रवृतिले कुनै पनि व्यक्ति र पार्टीलाई राम्रो गर्दैन ।

मैले बारम्बार भन्दै आई रहेको छु, आज पनि भन्छु र सदैव भनिरहन्छु कि महामन्त्रीहरुले ‘आफ्नो राजनीतिक जिवनमा गरेको सबैभन्दा ब्लन्डर’ भनेको देश र पार्टीलाई संकट परेर ईतिहासको कालखण्डमा सबैभन्दा बढी एकताको आवश्यता भएको बेलामा पार्टीको ‘विशेष महाधिवेशन’को माग गर्नु हो ।

शायद अहिलेका महामन्त्रीहरुले गलत समय र विषम परिस्थितिमा ‘विशेष महाधिवेशन’को माग गर्नु जस्तो ‘गंभीर ब्लन्डर’ वहांहरुले वहांहरुले आफ्नो राजनीतिक जिवनको नत बिगतमा नै गर्नु भएको थियो होला र नत भविष्यमा नै यो भन्दा ‘गंभीर ब्लनडर’ गर्नु होला भनेर अनुमान गर्न सकिन्छ ।

मैले यो भन्दै गर्दा महामन्त्रीहरुलाई तितो लाग्ला तर यो ‘गंभीर ब्लन्डर’को वहांहरुले प्रायश्चित गर्ने समय भविष्यमा कुनै दिन अवश्य आउनेछ । समयको पांग्रा गोलो छ । नझुक्किनु, यो घुमिरहन्छ ।

महामन्त्रीहरुको भनेको व्यक्ति होईन, यो त पार्टी र पार्टी सभापतिलाई सहयोग गर्ने कार्यकारी पद हो ।

यो समस्या बल्झाउने ठाउ होईन, यो समस्या सुल्झाउने आधिकारिक निकाय हो ।

हिजो यो पदमा अन्य व्यक्तिहरु हुनुहुन्थ्यो, आज वहांहरु हुनुहुन्छ र भोली अरु व्यक्तिहरु नै आउनु होला । पार्टीमा यो पदको गरिमा, ईज्जत, प्रतिष्ठा र सम्मानलाई जोगाउने दायित्व र कर्तव्य यो पदमा आसिन व्यक्तिहरुको नै हुन्छ ।

यसैले कुनै पनि व्यक्तिको अपरिमित महत्वांकांक्षा, अकर्मण्यता र किंकर्तव्यविमूढताको अर्थहीन भारी महामन्त्री जस्तो गरिमामय र जिम्मेवार पदले बोकिरहन सक्दैन । यसैले आफ्नो गरिमाको र आफुले सम्हालीरहेको जिम्मेवार पदको ख्याल र सम्मान हामी सबैले गरौं ।

म आज पनि भन्छु – विधानको धारा १७(२) ले पार्टीको कुनै पनि तहको कुनै पनि पदाधिकारी र सदस्यलाई परिवर्तन गर्न सक्दैन ।
विधानको धारा १७(२) को नियमावली र कार्यविधि नै बनेको छैन ।

पार्टीको पदाधिकारी परिवर्तन गर्न विधानको धारा २६ र धारा ४४ बाहेक अन्य धाराको व्यवस्था विधानमा उल्लेख गरिएको छैन ।

केही साथीहरु वि. सं. २०१४ सालको आदरणीय शुवर्ण समशेरको पालाको उदाहरण दिनु हुन्छ । वि. सं. २०१४ सालमा आदरणीय शुवर्ण समशेरले अहिलेको विधानको धारा २६ जस्तै विधानको कुनै धारा प्रयोग गरेर आफु स्वयंले राजीनामा दिएर आफै कार्यवाहक सभापति भएर आफैले बोलाउनु भएको पार्टीको विशेष महाधिवेशनले आदरणीय वी. पी. कोईरालालाई सहमतिमा सभापति चयन गर्नु भएको थियो । यो विशेष महाधिवेशन आदरणीय वी. पी. कोईराला, आदरणीय सुवर्ण समशेर लगायतका आदरणीय पार्टीका नेताहरुको सर्वसम्मत निर्णयबाट भएको थियो । अहिले त्यो परिस्थिति र परिवेश नै छैन ।

नेपाली कांग्रेसमा वि. सं. २०१४ सालको विधान र अहिलेको विधानमा धेरै फरक छ ।

त्यसबेला पार्टी सभापतिको मात्रै निर्वाचन हुन्थ्यो र अन्य सबै पदाधिकारी र सदस्यहरु पार्टी सभापतिले चयन गर्ने व्यवस्था विधानमा थियो । यसैले पार्टी सभापतिले राजीनामा दिंदा वा पार्टी सभापतिलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउदा सिंगो कार्य समिति नै भंग हुने वैधानिक व्यवस्था थियो ।

तर अहिले त्यस्तो व्यवस्था विधानमा छैन । अहिलेको विधानमा पार्टी सभापति सहित कोषाध्यक्ष बाहेकको सम्पुर्ण पदाधिकारीहरु निर्वाचित हुन्छन् ।

यसैगरि अहिलेको विधान अनुसार ८० प्रतिशत केन्द्रीय सदस्यहरु निर्वाचित हुन्छन् ।

अहिलेको विधानको धारा २६ अन्तर्गत पार्टी सभापतिले राजीनामा दिंदा पनि कार्य समिति भंग हुंदैन ।

यसैगरि विधानको धारा ४४ अन्तर्गत अविश्वासको प्रस्ताव सभापति र पदाधिकारीहरु बिरुद्ध मात्र ल्याउन पाउने व्यवस्था छ र सदस्यहरु बिरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउन पाउने व्यवस्था छौ ।

८० प्रतिशत निर्वाचित केन्द्रीय सदस्यहरुलाई हटाउन सक्ने वैधानिक व्यवस्था विधानमा उल्लेख गरिएको छैन ।

एकछिनलाई मानौं विधानको धारा ४३ अनुसार अविश्वास प्रस्ताव ल्याएर सबै पदाधिकारीलाई हटाईयो । तर पनि केन्द्रीय समितिमा ८० प्रतिशत निर्वाचित केन्द्रीय सदस्यहरु बहाल नै रहनु हुनेछ । वहांहरुलाई धारा ४४ अन्तर्गत पनि हटाउन सक्ने वैधानिक व्यवस्था छैन ।

यसर्थ, वि. सं. २०१४ सालको उदाहरणको अहिले कुनै अर्थ र सान्दर्भिकता नै छैन । यसैले नत वि. सं. २०१४ सालमा नै पार्टीको हालको विधानमा व्यवस्था भएको धारा १७(२) को भावसंग मिल्ने कुनै धारा अनुसार नेतृत्व परिवर्तन भएको थियो नत अहिले नै वर्तमान विधानको धारा १७(२)को व्यवस्था अनुसार नेतृत्व परिवर्तन हुन सक्छ । यो भ्रमबाट सबैजना मुक्त हुनु राम्रो हुन्छ ।

पार्टी सभापतिले पार्टीलाई एकताबद्ध राख्न अथक मेहनत गरि रहनु भएको छ । कसैप्रति पनि कुनै पनि प्रकारको द्वेषको भावना वहांको मनको कुनै कुनामा एक कण पनि छैन । पार्टीमा सबैको भावनालाई समेटनु पर्छ भन्ने उच्चतम सोच वहांमा छ ।

यो अनुभव र अनुभूति मृत्युसंग जिवन खोसेर बांचेको लामो र कठिन राजनीतिक यात्राबाट प्राप्त सुकर्मको फल हो । यो आदरणीय पार्टी सभापति श्री शेर बहादुर देउवाको ‘राजनीतिक टावरिंग पर्सनालिटि’को उज्यालो प्रकाशको समभाव किरणहरुको ज्योति हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा आफ्नो जुंगाको रेखी नबस्दाको उमेर देखि आज सम्म जेल, नेल, यातना र संघर्षको कालरात्रीका कठिन दिनहरुमा पनि बहुदलिय लोकतन्त्रको लागि वहांले गर्नु भएको संघर्ष अतुलनीय छ ।

अहिले पनि वहांले लोकतन्त्र र पार्टी एकताको लागि अथक मेहनत गरि नै रहनु भएको छ ।

यसर्थ, आदरणीय बर्तमान पार्टी सभापति र आदरणीय कार्यवाहक सभापति ज्यूहरुको अथक प्रयास,अधिकतम लचकता र शालिन सदासयताको सम्मान गर्दै वहांहरुले गर्नु भएको भद्र सहमतिलाई स्वागत गर्न, स्विकार गर्न र ह्रदय देखि नै पुर्ण सहयोग गर्नु हुन पनि पार्टीको सम्पुर्ण साथीहरुलाई पुनः हार्दिक अनुरोध गर्दछु ।

किमधिकम् ।

जय नेपाल !

Advertisment