संगम मा.वि.का पूर्व विद्यार्थी मञ्चको बनभाेज तथाा अधिबेशन सम्पन्न अध्यक्षमा पुनः नबीन गुरुङ निर्वाचित

पाेखरा । पूर्व विद्यार्थी मञ्च श्री संगम मा.वि. चन्द्रकोटको प्रथम अधिवेशन सम्पन्न भएको छ । २०७७ माघ २४ गते अन्नपूर्ण गा.पा., वडा नं. ३ स्थित काँडेमा सम्पन्न अधिवेशनले पुनः नवीन गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ ।

मञ्चका आजिवन सदस्य एवम् विद्यालयका पूर्व शिक्षक एकदेव देवकोटाको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । निर्वाचन मण्डलको सदस्यहरुमा राजमान गुरुङ्ग र नारायण क्षत्री रहनु भएको थियो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शिवभक्त देवकोटा, सचिवमा लक्ष्मीनारायण देवकोटा, कोषाध्यक्षमा आशबहादुर गुरुङ्ग र सह–सचिवमा चुडामणी देवकोटालाई चयन गरेको छ भने सदस्यहरुमा ताराप्रसाद गुरुङ्ग, प्रेम प्रसाद चापागाई, सम्पूर्ण गुरुङ्ग, दिनेश कुमार जि.सी., आश बहादुर वि.क., सुनील देवकोटा र मनोज क्षत्री रहनु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा श्री संगम मा.वि.को भौतिक तथा शैक्षिक बिकासका लागि मञ्च मार्फत यसैवर्ष आर्थिक सहयोग गर्ने विभिन्न ३१ जना सहयोगदाताहरुलाई खादा र प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि युवराज कुवँरले विद्यालय शिक्षाको स्तर माथि उकास्नका लागि विद्यार्थी संख्यामा भन्दा पनि शैक्षिक गुणस्तर वृद्दिमा जोड दिनुपर्ने बताउनुभयो ।

पूर्व विद्यार्थी मञ्चका अध्यक्ष नवीन गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष आईबहादुर गुरुङ्ग, अन्नपूर्ण गा.पा. वडा नं. ६ का वडा अध्यक्ष चित्रबहादुर गुरुङ्ग, वडा नं.७ का वडा सचिव नारायण क्षत्री, संगम मा.वि.का प्रधानाध्यापक टेकराज पोखरेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा मञ्चका कोषाध्यक्ष आशबहादुर गुरुङ्गद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सचिव लक्ष्मीनारायण देवकोटाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ चन्द्रकोट स्थित श्री संगम माध्यमिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुलाई संगठित गरी पारस्परिक भाईचारा सम्बन्धको अभिवृद्दि गर्ने उद्देश्यले पूर्व विद्यार्थी मञ्चको स्थापना बि.सं. २०७५ मा भएको हो ।

मञ्चले विद्यार्थीहरुलाई जेहेन्दार छात्रवृत्ति, विद्यालय पोशाक, झोला, स्टेशनरी तथा कोभिड १९ रोकथामका लागि आवश्यक विभिन्न स्वास्थ्य सुरक्षा सामागीहरु वितरण लगायत विभिन्न सहयोग विद्यालयमा उपलब्ध गराउदै आएको छ । त्यस्तै वडादशैंको अवसरमा भू.पू.विद्यार्थीहरु बीच वार्षिक भेटघाट तथा शुभकामना आदानप्रदान, विद्यालय सरसफाई जस्ता विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

Advertisment