तमु धिं नेपालको साधारणसभा तथा अधिवेशन असोज १६ मा, भुपू सैनिकको सामाजिक भत्ता कटौति नगर्न चेतावनी

यस पटक ट्होटें बृहत रुपले नमनाउने
पोखरा, १७ साउन
तमुहरुको सामाजिक अग्रणी संस्था तमु धिं नेपालको आउदो असोज १६ गते ३६ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन हुने भएको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं भवनमा अध्यक्ष कर्म तमुको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकले साधारणसभाको मिति तय गर्नुका साथै विविध निर्णयहरु गरेको हो।
अधिवेशन सम्पन्न गर्नका लागि सल्लाहकार वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा सल्लाहकारहरु अम्बर तमु, डा.दिर्घमान तमु, कर्णेल रामकाजी तमु, अधिवक्ता अनिता तमु रहनुभएको छ। यसरी नै विधान संशोधनका लागि सचिव अधिवक्ता जुनाकुमारी तमु, द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, महासचिव गिरीप्रसाद तमु, सहसचिव दुर्गाबहादुर तमु र साँस्कृतिक सहसंयोजक कृष्णकुमार तमु रहेको समिति गठन गरिएको छ।

बैठकले तमु धिं नेपालको आजीवन सदस्यताका लागि चारभज्याङ तमु समाजको सिफारिससहित निवेदन दिनु भएका कृष्णकुमार तमु, पार्दी समाजकाशशिकुमार तमु, साँस्कृतिक उपसमितिका सुरेन्द्र तमु र चारभज्याङ तमु समाजकी बिना तमुलाई तमु धिं को आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। चुन्न र चुनिने अधिकार आजिवन सदस्यहरुमा रहने तमु धिंको विधानमा उल्लेख छ भने तमु धिंको करिब ८ सय आजिवन सदस्य रहेका छन।
यसरी नै तमु धिं स्थापना दिवसमा गरिदै आएको सम्मान, पुरस्कार र छात्रवृत्ति वितरण साधारणसभाकै दिन गरिने निर्णय समेत बैठकले गरेको छ। १२ जनालाई विभिन्न शिर्षकका सम्मान, पुरस्कार र छात्रवृति वितरण गरिनेछ।
कोरोनाको संक्रमणका कारण साउन अन्तिम मंगलवार २७ गतेको ट्होटे पर्व बृहत रुपमा नमनाउने निर्णय तमु धिं ले गरेको छ। सिमिति संख्यामा आवाश्यक सर्तकता अपनाएर तमु धिं र समाजहरुमा अनुकुलता हेरी ट्होटे मनाउने भएको छ।
यसैविच कोरोना महामारी कारण समस्यामा परेको भन्दै तमु कलाकार संघ, जिफान, तमु संचारकर्मी संघ, हिमाली साँस्कृतिक परिवार लगायतले राहत सहयोग अनुरोधका गरेकाले तमु कलाकार संघ गण्डकी २१ हजार, तमु संचारकर्मी संघ केन्द्रिय समिति २० हजार, जिफान २५ हजार र हिमाली साँस्कृतिक परिवारलाई २५हजार सहयोग हस्तान्तरण गरिएको थियो।
आफ्नो उर्जाशिल उमेर राज्यले रोयल्टी लिएर विदेशी सैनिक, अर्धसैनिक, पुलिस लगायतमा ज्यानकै बाजी लगाएर पेन्सन प्राप्त गरिरहेका भूपूसैनिक, प्रहरी लगायतलाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताबाट कटौती गर्ने निर्णयको तमु धिं नेपालले आपत्ति जनाएको छ।विदेशभुमिमा सेवा गरेका भुपू सैनिक,प्रहरीलाई जेष्ठ नागरिक, अपांग, एकल महिला, दलित लगायतका सामाजिक सुरक्षाबाट बञ्चित गर्दै गैरनागरिक बनाउने अपमानजन्य निर्णय नेपाल सरकारले नसच्याए तमु धिं लगायत सम्पुर्ण तमु समाजहरु दवावमा उत्रने तमु धिं र क्षत्रीय तमु समाजहरुले गरेको छ।
यसैगरी तमु धिंमा टुटे फुटेका, विग्रेका सामाग्रीहरु बेचविखन, व्यवस्थापन गर्न सहकोषाध्यक्ष सुबेदार तुलबहादुर तमुको संयोजकत्वमा गमबहादुर तमु र गोपाल तमु रहेको कवाडी व्यवस्थापन समिति गठन गरेको महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो।
यसैबिच तमु धिं नेपालको कार्यबाहक अध्यक्ष भई ८ महिना सफलतापुर्वक नेतृत्व गरेको भन्दै द्धितिय उपाध्यक्ष हुमबहादुर तमुलाई अध्यक्ष कर्म तमुले सम्मान गर्नुभएको थियो भने नवनिर्वाचित चिउली पार्चे तमु समाजको कार्यसमिति, तमु विद्यार्थी समितिलाई बधाई र कार्यकाल सफलताको शुभकामना, तमु कलाकार संघ गण्डकीलाई तमु धिंमा हार्दिक स्वागत गरिएको थियो। कार्यक्रममा तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र तमु र तमु विद्यार्थी समितिका संयोजक जीवन तमुले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Advertisment