भारतले भोलिदेखि छिमेकी मुलुकलाई अनुदानमा खोप दिने, नेपाल उच्च प्राथमिकतामा

६ माघ, काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन ।

भारतले अनुदानमा दिने भनेको कोभिसिल्ड खोप प्रयोगका लागि यसै साता सरकारले अनुमति दिइसकेको छ ।

भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ ।

‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।’

यसै साता स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।

photo – agency

Advertisment