काठमाडौँ । सामाजिक सन्जालबाटै प्रचार थालिएको जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको अवधिसम्म कर्फ्यु क्षेत्रभित्र मानिसको आवाजाही तथा सभा–जमघट पूर्णरूपमा निषेध गरिएको छ। सुरक्षाकर्मीमाथि ढुंगामुढा र तोडफोड बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइएको जनाएको छ।
यसअघि प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। हाल संवेदनशील स्थानहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
कर्फ्यु लाग्ने क्षेत्र
प्रशासनले जारी गरेको सूचनाअनुसार कर्फ्यु आदेश तलका स्थानहरूमा लागू हुनेछः
- नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म,
- नयाँ बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
- नयाँ बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
- नयाँ बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म।



