आइटिएफ टेनिस,

कमल भण्डारी ३५ वर्ष माथि च्याम्पियन, ५५ वर्ष माथिको डबल्स उपाधी जैन र राणा जोडीलाई

· ४५ वर्ष माथिको उपाधीका लागि भारतका मूर्ती र पोखराका कार्की भिड्ने

असोज १६,पोखरा

डिफेण्डीङ्ग च्याम्पियन कमल भण्डारीले पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्ष माथि एकलतर्फको उपाधी जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनल खेलमा उनले भारतका दिलिप मोहन्तीलाई ६–४ र रिटायर्डहर्टमा पराजित गरे । गत वर्ष आइटिएफ सर्किट ५ को फाइनलमा पनि यि दुई खेलाडी आमने सामने हुँदा कमललेनै बाजि मारेका थिए । जितसंगै कमलले आइटिएफ सर्किटमा ६० अंक जोडेका छन् ।

एकलतर्फ उप–विजेतामा चित्त बुझाएका मोहन्तीले ३५ वर्ष माथिको डबल्समा भने प्रथम स्थान हाँसिल गर्दै पुरा ६० अंक बटुल्न सफल भए । मोहन्ती र अभिनाश कुँवरको जोडीले भारतकै स्वर्णद्विप सिंहलाई जोडी बनाएका पोखराका धरमबहादुर लामिछानेको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गर्दै समान ६०÷६० अंक जोडेका हुन् ।

५५ वर्ष माथिको डबल्स उपाधी भारतका पवन जैन र नेपालका मनोज शमशेर राणाको पोल्टामा गएको छ । राणा जोडीले भारतका अरुण अग्रवाल र भारतकै मुर्थाती सुरेसको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

४५ वर्ष माथिको एकल उपाधीका लागि भारतका नारायण मूर्ती कोटयाला वेङ्कटेस र पोखराका अमृत कार्की उपाधीका लागि भिड्ने भएका छन् । मूर्तीले पोखराकै धरमबहादुर लामिछानेलाई ६–३, ६–१ मा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै पोखरेली खेलाडी कार्कीले प्रताप मोक्तानलाई ६–२ र ७–६ (४) मा पराजित गर्दै मूर्तीसंगको भेट पक्का गरेका हुन् । कार्कीको झण्डै एक दशक लामो टेनिस इतिहाँसमै यो सबैभन्दा ठूलो उपलब्धि हो ।

५५ वर्ष माथिको उपाधीका लागि कमल थापा र कृष्णराज घले आमने सामने हुनेछन् । मंगलबार भएको सेमिफाइनलमा घलेले पोखराका अनिल तुलाचनलाई ६–०, ६–० को सजिलो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् ।

प्रतियोगिताका बाँकि फाइनल खेल बुधाबार हुने आयोजक संघका सचिव नविन चालिसेले जानकारी दिएका छन् ।

फोटो पनि छ ।

४५ वर्ष माथिको उपाधीका लागि आमने–सामने हुन लागेका भारतका मूर्ती र पोखराका कार्की

Advertisment