काठमाडौंमा पनि डेंगुका विरामी बढ्दै

काठमाडौं, कात्तिक २६ गते । गर्मी याममा तराईमा देखिने डेंगु यसपाली चिसो मौसममै काठमाडौंमा देखिएको छ । डेंगु रोग एडीस जातको लामखुट्टेको टोकाईबाट लाग्ने चिकित्सकहरुले जानकारी दिएकको छ ।
काठमाडौंको मैतिदेवि–घट्टेकुलो आसपासमा डेंगुका विरामी बढ्दै गएका असोजबाट यस क्षेत्रमा देखिएका डेंगुका विरामी हालसम्म २३० जना पुगिसकेका छन् । काठमाडौं महानगर शहरी स्वास्थ्य क्लिनिक ईन्चार्ज सुनिता बोहेराका अनुसार असोज देखि देखिएको डेंगुका विरामीको संख्या २९ र ३० वडामा २३० जना पुगिसकेको बताउनुभएको छ । तर, त्यसमध्ये ७५ प्रतिशत विरामी निको भैसकेको समेत उहाँले बताउनुभयो ।
विशेषगरी मैतिदेवि क्षेत्रमा तरकारीहरु बेच्नका लागि राख्ने र नजिकै खोला पनि भएकाले उक्त क्षेत्रमा डेंगु बढी देखिएको उहाँको भनाई छ । यसपपालि पछिसम्म पानी परिरहेको र पानी सङ्कलन गरेर धेरै बेर राख्नाले पनि जोखिम निम्तिएको उहाँ बताउनुहुन्छ । ‘मैतिदेवि क्षेत्रमा तरकारी बेच्नका लागि राख्ने र नजिकै खोला पनि छ । त्यही खोलामा लामखुट्टेले फुल पार्दछ र तरकारी बजारतिर लामखुट्टे जाने र टोक्ने भएकाले त्यो क्षेत्र बढी जोखिममा छ,’ बोहोराले भन्नुभयो ।
डेंगु फैलिएका यी क्षेत्रमा रोकथाम गर्न स्वास्थ्य मन्त्रालय र महानगरबीच पनि छलफल भएको छ । बिहीबार मन्त्रालयका पदाधिकारी र महानगरले डेंगु नियन्त्रण गर्न मैतिदेवि, घट्टेकुलो क्षेत्रका सबै घरमा गएर घरमाथि रहेका ट्याङकीहरुमा अध्ययन गर्ने योजना बनाएको बाहोराले बताउनुभएको छ । यी क्षेत्रमा पानीको अभाव भएकाले पानी धेरै समय संकलन गरेर राख्ने भएकाले लामखुट्टेले फुल पार्न सजिलो हुने र यसबाट पनि डेंगु फैलिएकाले यस्तो निर्णय गरिएको बोहोरा बताउनुहुन्छ ।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि काठमाडौंमै डेंगुका बिरामी बढी देखिएको बताउनुभएको छ । अन्य जिल्लाहरुमा यसपालि डेंगुका विरामी खासै नदेखिए पनि काठमाडौंका मैदिदेवि–घट्टेकुलो आसपासका मानिसमा डेंगु संक्रमण देखिएको उहाँ स्वीकार्नुहुन्छ ।
काठमाडौँमा चिसो बढेकाले डेंगुले महामारीको रूप नलिने डा। बास्तोलाको अनुमान छ ।
उहाँका अनुसार यसको विशेष औषधि हुँदैन। लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ। डेंगु सङ्क्रमण भएको अवस्थामा सङ्क्रमितमध्ये एक प्रतिशत व्यक्तिको मृत्युको जोखिम हुने बास्तोला बताउनुहुन्छ । समयमै पहिचान भए मृत्युबाट बच्न सकिन्छ । ज्वरो आउने, टाउको दुख्ने, शरीरमा मसिना बिमिरा आउने, शरीरको पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्ने उहाँको सुझाव छ ।
पहिलो डेंगुको सेरोटाईपभन्दा फरक सेरोटाईपले पुनः संक्रमण गरेको भए संक्रमितमा डेंगु झन कडा हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेकाले विशेष ख्याल गर्न बास्तोलाको आग्रह छ ।

Advertisment