अन्नपुर्णमा बजेट बनाउन सुझाब संकलन तिब्र, समृद्द अन्नपुर्ण बनाउन लागौं – अध्यक्ष केसी


२५ जेठ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सीले समृद्द अन्नपुर्ण बनाउन सबै पक्षको उत्तिकै साथ, सहयोग र चासो हुनुपर्ने बताउनुभएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलनका क्रममा बुधवार अन्नपूर्ण गाउपालिकामा स्थायी ठेगाना रहि पोखराबाट राष्ट्रिय एवं स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा साहित्यकार र कलाकारहरुसँग सुझाव संकलनको क्रममा अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।
गाउँपालिकाले पालिका अन्तर्गतका बिभिन्न संघ संस्था, राजनैतिक दल, बुद्धिजीवि, विज्ञ, व्यवसायी, पेशाकर्मी, कर्मचारी, संचारजगत सँग सुझाव संकलन कार्यलाई तिब्रता दिएको समेत के.सीले प्रष्ट्याउनुभएको छ ।
यसै सन्दर्भमा सुझाव संकलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद एबं कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र प्रसाद पौडेल, आदर्श समाज दैनिक सम्बाददाता श्रीभद्र पौडेल, पत्रकार घनश्याम पौडेल, अधिवक्ता एवं पत्रकार बिष्णुप्रसाद अधिकारी लगायतले समृद्द अन्नपुर्ण बनाउन गाउपालिकाले सञ्चारकर्मी हरुलाई प्रोत्साहन गर्न सञ्चार नीति बनाइ अगाडी बढ्नु पर्ने, लेखनबृती तथा पुरस्कार स्थापना जस्ता काम गर्न सके पत्रकार तथा सञ्चार माध्यमहरुले प्रसस्त सकारात्मक संदेश फैलाउन उत्साहित हुने हुंदा यस तर्फ ध्यान दिन आग्रह गर्दै संचार माध्यमले खेलिने भुमिकाका बिषयमा समेत आआफ्नो धारणा राख्नुभएको थियो ।
कला र साहित्यको क्षेत्रबाट लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रिय सचिव जिवन दाहाल, राष्ट्रिय भजन चुटकाका केन्द्रीय उपाध्यक्ष प्रेम अधिकारी, साहित्यकार अम्बिका भण्डारी लगायतले अन्नपुर्णमा कला, साहित्य र संस्कृति जगेर्ना गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

पालिकाले यसअघि सामाजिक विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति, विधायनसमिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वजेट तथा कार्यक्रम तर्जुमा समिति, स्थानिय राजश्व परामर्श समिति र श्रोत अनुमान तथा वजेट सिमा निर्धारण समितिसँग सुझाव संकलन कार्य सम्पन्न गरिसकेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले जानकारी दिनुभएको थियो ।

अध्यक्ष केसीले पालिकाको बृहत बिकास र समुदायको स्तर उन्नतीका लागि पत्रकार तथा कलाकारको महत्वपुर्ण भूमिका रहेको हुनाले आएको सुझाबलाई कार्यन्वयनमा लानलाई पहल गरिने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटा, वडा नं. ७ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता भरतमान गुरूङ, वडा नं. १ का वडाध्यक्ष तुलसीप्रसाद अधिकारी, शिक्षाशाखा प्रमुख बलराम भुगाई लगायत पालिकाका कर्मचारीहरुको उपस्थिती थियो ।

Advertisment