एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट: भारतले नेपाललाई २२.१ ओभरमा हरायो

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट

साउन १, काठमाडौं । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ ।

आर प्रेमदासा क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा नेपाल भारतसँग नौ विकेटले पराजित भयो । लगातार दोस्रो हारसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेटको क्षतिमा १७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो । भारतका लागि ओपनर अविशेक शर्मा र शाही सुदर्शनले अर्धसतकीय इनिङ्स खेल्नुभयो । अविशेकले ८७ रन बनाउनुभयो । उहाँले ६९ बलमा १२ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यस्तै शाही सुदर्शनले अविजित ५८ रन बनाउनुभयो । उहाँले ५२ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ध्रुव जिरेलले अविजित २१ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान रोहित पौडेलले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । कमजोर ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रन बनाउनुभयो । उहाँले ८५ बलमा सात चौकाको सहयोगमा अर्धसतकीय इनिङ्स खेल्नुभएको हो । यस्तै गुलसन झाले ३८, देव खनालले १५ र सोमपाल कामीले १४ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा भारत ‘ए’ का निसन्तान सिन्धुले चार विकेट लिनुभयो । राजवर्धक हंगेगाकरले तीन तथा हर्षित रानाले दुई र मानव सुतरले एक विकेट लिनुभयो । नेपाल समूहको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान ‘ए’, भारत  ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागी प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जुलाई २३ तारिख हुनेछ । नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रूपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

भारत ‘ए’ विरुद्ध नेपाल–११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलसन झा, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी र किशोर महतो ।

Advertisment