दशौं पोखरा स्पोट्र्स अवार्डमा २७ लाख ४ हजार ५ सय २० खर्च

युनाईटेड खबर संवाददाता

पोखरा, १० साउन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ बाट रु. ७ लाख ७१ हजार ४ सय १८ बचत भएको छ। मञ्चले आइतबार पोखरामा आयव्यय सार्वजनिक गर्दै आर्थिक प्रतिवेदन प्रस्तुत गरेको हो।

अवार्डका लागि कुल रु. ३४ लाख ७५ हजार ९ सय ३८ आम्दानी भएकोमा रु. २७ लाख ४ हजार ५ सय २० खर्च भएको कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए। खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा रु. १० लाख ३७ हजार ४ सय ६० उपयोग भएको छ। हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ मुख्य प्रायोजक रहेको उक्त कार्यक्रम गत वैशाख ३१ गते सम्पन्न भएको थियो।

कार्यक्रममा मञ्चका अध्यक्ष एमबी आस्थामगर, पूर्वअध्यक्षहरू तथा पत्रकारिता क्षेत्रका अगुवाहरूले पोखरा स्पोट्र्स अवार्ड देशकै प्रतिष्ठित ‘ब्राण्ड’का रूपमा स्थापित भएको बताए। उनीहरूले आर्थिक पारदर्शिताले संस्थाको पत्यार बढाएको उल्लेख गर्दै बचत रकमलाई खेलकुद पत्रकारहरूको क्षमता अभिवृद्धि र व्यावसायिकतामा लगानी गर्नुपर्नेमा जोड दिएका छन्।

Advertisment