पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) समक्ष पोखरा–२१ स्थित ठूलीस्वाँराबासीले दुई किलो मिटर सडक कालोपत्रे गरिदिन आग्रह गरेका छन् ।
ठूलीस्वाँरावासीसँग सोमबार बिहान आफ्नो पक्षमा मतमाग्न पुगेका काँग्रेस उम्मेदवार बास्तोलासँग उनीहरुले पोखरा–२१ को मैदानदेखी ठूलीस्वाँरासम्म पुग्ने दुई किलोमिटर कच्ची सडकलाई कालोपत्रे गरिदिन आग्रह गरेका हुन् । ठूलीस्वाँरामा रानामगरहरुको २५ घरपरिवार बस्दै आएको छ ।
स्थानीय नरबहादुर रानामगरका अनुसार कच्ची सडक खनेको दश वर्ष वित्यो अहिलेसम्म कालो पत्रे भएको छैन,यस अगाडि पनि तीन पटक भोट माग्न नेताहरु आए तर कसैले कालोपत्रे गरिदिएको छैन, अहिले उहाँ आउनुभएको छ, एक पटक भोट दिन्छौ अर्कोवर्ष सडक कालोपत्रे हुनुपर्छ, अरुकुरा हामी जान्दौनौ । हाम्रो माग ठूलो छैन, दुई किलो मिटर सडक कालोपत्रे गर्न धेरै खर्चपनि लाग्दैन, उनले भने नेताहरुले चाहे भने अहिले नै हुन्छ ।
उनीहरुका माग सुन्दै उम्मेदवार बास्तोलाले ठूलीस्वाँरावासीको माग ठूलो नभएको र त्यो माग पुरा गर्नेतर्फ आफ्नो पहल हुने आश्वासन दिँदै विषम परिस्थितिमा गर्न लागिएको निर्वाचनमा आफूलाई भोट दिएर सहयोग गर्न उनले आग्रह गरे ।
काँग्रेस सुध्रिएको र अव देश बदल्ने योजनाका साथ युवालाई सभापति बनाएको काँग्रेसले नेपाली जनताका हरेक सुःखदुःखमा साथ दिने बताउँदै राणकालदेखी प्रजातन्त्रका लागि लड्दै आएका कााग्रेसको इतिहास महत्वपूर्ण रहेको बताए । वर्तमान संविधान संशोधन गरेमात्र कुनै एक पार्टीका एकमाना सरकार बन्न सक्ने हुँदा सबै पार्टी मिलेर संविधान संशोधन गर्न आवश्यक देखिएको भनाइ पनि उनको छ ।
त्यसैगरी पोखरा–२१ को अभियान टोलमा भएको चुनावी कोण सभामा बोल्दै उम्मेदवार बास्तोलाले विषम परिस्थितिमा हुन लागेको निर्वाचन अत्यन्तै महत्वपूर्ण भएकाले मतदान गर्दा विचार पु¥याउन आग्रह गरे । साथै उनले नेपाली काँग्रेस राणकालदेखि नै प्रजातन्त्रका लागि लड्दै आएको पार्टी भएकाले देश कमजोर भएको बेला काँग्रेसले मात्र देश बचाउन सक्ने बताए ।
त्यसरीनै सोमबार पोखरा–२१ को चापाचौर र चिलाउने खर्कमा पुगेर उम्मेदवार बास्तोलाले स्थानीयसँग मत माग्नुको साथै सुझाव संकलन गरेका थिए । घरदैलो कार्यक्रममा स्थानीयले सडक, खानेपानी, सिंचाई, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि लगायतका माग राखेका थिए ।
उम्मेदवार बास्तोला आजै लामाखेत, मैदान, फोक्सिङ, नाच्नेचौरमा घरदैलो कार्यक्रम गर्नुको साथै आशीर्वाद लिने काम गरेको जानकारी नेपाली काँग्रेसका नेता ऋषि काफ्लेले जानकारी दिए । उक्त घरदैलो कार्यक्रममा काँग्रेस नेता सोभियत बहादुर अधिकारी, वीरेन्द्रनारायण विजुक्छे, ऋषि काफ्ले, विन्दुकुमार थापा, केशर निर्दोषी, विजय आचार्य, लालीमाया रेग्मी, मुकुन्द वास्तोला, केवल गिरी, प्राडा रामचन्द्र पोखरेल लगायतका नेताहरु सहभागी थिए ।



