काेराेना मुक्तका लागि जाग्याे ” ईनफ ईज ईनफ ” पोखरा समुह, अरु याेजना पनि अघि सार्दै !

पाेखरा । “कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनको अवस्था” बारे “ईनफ ईज ईनफ” अभियान पोखराले गर्यो समीक्षात्मक अध्ययन, प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएकाे बिज्ञप्ति मार्फत साे समुहले जानकारी दिएकाे छ ।

हिजो मिति २०७७/०४/२९ गते बिहिबारका दिन “ईनफ ईज ईनफ” अभियान, पोखरा समूहले गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग समक्ष “कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनको अवस्था” बारे गरिएको एक समीक्षात्मक अध्ययन
को प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गरेको छ।

प्रारम्भमा मिति २०७७ साल जेठ २९ गते, बिहिबार(जून ११, २०२०) का दिन सरकारलाई कोभिड-१९ को व्यवस्थापनमा संवेदनशिल र जवाफदेही बनाउने उदेश्यका साथ पोखरामा जिल्ला प्रशासन कार्यालय, कास्की अगाडी आयोजना गरिएको “मौन तथा शान्तिपूर्ण प्रदर्शन” को बलियो जगमा निर्माण भएको यस अभियान सो कार्यक्रमको सफलता सँगै अझ सृजनात्मक एवं रचनात्मक भएर अघि बढेको थियो।
पोखरा सहित देशका विभिन्न स्थानमा भएको उक्त शान्तिपूर्ण प्रदर्शन पश्चात् सरकारद्वारा गठित एक उच्च स्तरिय ” कोभिड -१९ संकट व्यवस्थापन संचालन केन्द्र निर्देशक समिति” ले प्रदर्शनका क्रममा उठाईएका मागलाई सम्बोधन गर्न देखाएको तदारुकता र सरकारले जनाएको प्रतिबद्वतालाई सकारात्मक रुपमा ग्रहण गर्नुका साथ साथै कयौं व्यक्तीहरुले दिनुभएको सल्लाह,सुझाव र रचनात्मक आलोचनालाई आत्मसात गर्दै खासगरी प्रदर्शनको विकल्प खोज्न आवाज उठिरहेका बेला हामीले सोही बमोजिम पोखरामा तत्कालिन अवस्थामा प्रदर्शनको कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेका थियौँ।

त्यसपछिका चरणमा हाम्रो समूहले मिति २०७७ असार ०२ गते पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको अनुमतिमा सामजिक दुरीलाई पालना गर्दै महानगर भित्र रहेका १२ क्वारेन्टाईन केन्द्र मध्ये ६ वटा क्वारेन्टाईन केन्द्रको स्थलगत अध्ययन अवलोकन गरेर प्राप्त गरेका सुचना र निष्कर्षहरुका आधारमा प्रतिवेदन तयार गरी मिति २०७७/०३/०३ गते पोखरा महानगरपालिकाकी उप-प्रमुख र स्वास्थ्य महाशाखा प्रमुखलाई “६ बुँदे सुझाव पत्र” बुझायौं जुन कार्य यस अध्ययनका लागि समेत आधारशिला बन्यो।

मिति २०७७/०३/२८ गते बाट औपचारिक थालनी गरिएको यस झन्डै १ महिनाको अवधिमा तयार गरिएको यस अध्ययन प्रतिवेदनमा कास्की जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाईन केन्द्रहरुको स्थलगत अध्ययन अवलोकनको विवरण, त्यसबाट प्राप्त निष्कर्ष सहित क्वारेन्टाईनको आवश्यक सुधार तथा प्रभावकारी व्यवस्थापन एवं नियमनका लागि सुझाव दिईएको छ। झन्डै ८० पृष्ठको उक्त अध्ययन प्रतिवेदनमा समग्र गण्डकी प्रदेश र नेपालकै परिदृश्यलाई विश्लेषण गरी मूलत तीन वटा क्षेत्र : शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र र आर्थिक क्षेत्रको द्रुत विश्लेषणात्मक समीक्षा गरी अन्तराष्ट्रिय अभ्यास र सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको परामर्शमा सरकारलाई केही सुझावहरू समेत प्रदान गरिएको छ।

शिक्षा क्षेत्रको हकमा अहिलेको संक्रमणकालिन अवधिमा वैकल्पिक शिक्षण प्रणाली अबलम्बन गर्दा “वर्गीय विभाजन रहित सबैका लागि समान शिक्षा” मा जोड दिनुपर्ने र शिक्षासँग सम्बन्धित भएका कयौं समस्याहरुको निराकरण एवं सुधारका लागि समेत यसलाई एउटा ऎतिहासिक अवसरको रुपमा लिई सरकारले शिक्षा क्षेत्रको आधारभूत नीतिगत स्वरुपमै आमूल नीतिगत परिवर्तन गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेखित छ।

त्यस्तै आर्थिक क्षेत्रको हकमा अर्थतन्त्रको पुन:उत्थान सहित अर्थतन्त्रलाई उद्वेलित, चलायमान र गतिशील बनाउन मूल रुपमा “द्रुत डिजिटलाइजेशन” को एजेन्डा सहित अटोमेसन, रोबोटिक्स, आर्टिफिसियल ईन्टलिजेन्स र ग्रिन टेक्नोलोजीको सम्भाव्य बारे अध्ययन गरी “औधोगिक पुन:संरचना”, आन्तरिक पर्यटन प्रवर्द्वन, माग र आपूर्तिमा सन्तुलन ल्याउन वैकल्पिक पृष्ठको पहिचान, वैकल्पिक कार्यक्रमहरुको खोजी र भौतिक पूर्वाधार विकासको लागि विकास बैंकको अवधारणामा जोड दिन सुझाव दिएका छौँ।

हालको अवस्था स्वास्थ्य क्षेत्र सँग सम्बन्धित भएकै कारणले गर्दा स्वास्थ्य क्षेत्रमा अधिकतम लगानीमा जोड दिँदै जन स्वास्थ्य विद्सँगको परामर्शमा कोरोना परिक्षण गर्दा नेगेटिभ आएका व्यक्तिलाई समेत आईशोलेसनमा राख्ने प्रावधान सहित १००% आईशोलेसनको “पृथक एजेन्डा” समावेश गरेका छौं भने वैकल्पिक उपचारका विधिहरुको पहिचान, सामाग्रीहरुको शुद्विकरण नीतिका माध्यमबाट पुन: प्रयोग,अन्तिम वर्षहरुमा अध्ययनरत मेडिकल विद्यार्थीलाई सामान्य रोगहरुको उपचार गर्न कानुनी मान्यता र आकस्मिक स्वास्थ्य सामाग्रीहरुको अधिकतम खरिदी एवं भण्डारण गर्न समेत सुझाएका छौँ।

समग्रमा, यो अध्ययन प्रतिवेदनले एउटा अन्तराष्ट्रिय संस्थाले गरेको अध्ययनलाई समेत आधार मानी “आई.ए.पी” को अवधारणा अङ्गीकार गरी “आई” अर्थात ईन्भेस्टिंग ईन हेल्थ (स्वास्थ्यमा लगानी), “ए” अर्थात् एसिस्टेन्स ईन मोडीफिकेसन (फेरबदलमा सहायता) र “पी” अर्थात् प्लानिंग (योजना) को बलियो जगमा स्पष्ट कार्ययोजना सहित सरकारले काम गर्नुपर्छ भनी सिफारिस गरेको छ।

उक्त प्रतिवेदनलाई अत्यन्तै उत्साहका साथ ग्रहण गर्दै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएका सुझावहरुलाई प्रदेश सरकारले अध्ययन गरी
कार्यान्वयन गर्ने बताउनु भएको थियो। अध्ययनको प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गर्न आफ्नो अमूल्य समय प्रदान गर्नुका साथ साथै प्रतिवेदनका लागि आफ्नो शुभकामना मन्तव्य दिनुभएकोमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सभा सदस्य माननीय कृष्ण बहादुर थापा प्रति हामी विशेष आभार व्यक्त गर्दछौँ।
यस अध्ययनका क्रममा हामीलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सल्लाह र सुझाव दिनुहुने सम्पूर्ण व्यक्तिहरु प्रती हामी हार्दिक आभार प्रकट गर्दछौँ।

यस अध्ययनले गरेका खोज एवं अनुसन्धान, निकालेका निष्कर्षहरु र प्रदान गरिएका सिफारिस तथा सुझावहरुले निर्णय मामिलामा सफल कार्यान्वयन गरिएको खण्डमा
केही हदसम्म भएपनि सकरात्मक परिवर्तन ल्याउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ।
यस अध्ययनको अन्तिम प्रतिवेदन भने केही समय पछि सामाजिक संजालको माध्यमबाट
सार्वजनिक गरिने व्यहोरा जानकारी गराउन चाहन्छौँ।

” ईनफ ईज ईनफ ” पोखरा समूहको समग्र अभियानलाई सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गर्नुहुने आदरणीय अग्रज, अभियान्ता साथीहरु, नागरिक समाजका अगुवा, विज्ञ एवं बौद्विक समुदाय,राजनीतिज्ञ, पत्रकार एवं संचार जगत, ” ईनफ ईज ईनफ ” अभियानमा संलग्न काठमाण्डौं लगायत अन्य स्थानका अभियान्ता साथीहरु तथा सम्बन्धित सबैमा हामी विशेष धन्यवाद ज्ञापन गर्दछौँ।

सुरुवाती चरणमा अत्यन्तै सफलताका साथ सम्पन्न “शान्तिपूर्ण प्रदर्शन” कै बलियो जगमा यस अभियान यो बिन्दु सम्म आईपुगेकाले सो प्रदर्शनमा उत्साहजनक सहभागिता सहित हामीलाई हौसला प्रदान गर्नुहुने आम पोखरेली जन समुदाय, चुस्त दुरुस्त सुरक्षा व्यवस्थाका लागि तैनाथ राष्ट्रसेवक प्रहरी तथा प्रदर्शनका लागि अनुमती प्रदान गरी प्रशासनिक सहजीकरण गर्ने सम्बन्धित सरकारी कार्यालय प्रती हामी अत्यन्तै अनुग्रहित छौँ।

अन्त्यमा : ” युवाहरु जागौँ, कोरोनाबाट देशलाई मुक्त बनाऔँ ” भन्ने मूल मर्मलाई आत्मसात गर्दै देशका जिम्मेवार नागरिकको नाताले सरकार एवं सम्बन्धित निकायले गरेका कार्यहरुलाई “वाच डग” को भूमिकामा रहँदै नजिक बाट नियाली निरन्तर “फ्लोअप” गरी जवाफदेही एवं खबरदारीका लागि हामी सदैव प्रतिबद्व रहेको व्यहोरा जानकारी गराउन चाहान्छौ । हाम्रो अभियानलाई यो बिन्दुसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको यस्तै साथ, सहयोग, सल्लाह एवं रचनात्मक सुझावको अपेक्षा गरेका छौँ ।

– “ईनफ ईज ईनफ” अभियान, पोखरा समूह
मिति: २०७७/०४/३० गते, शुक्रबार

Advertisment