पोखराका भट्टराईद्धारा सिर्जित गीत ‘नाष्ट गान’ मा छनौट, ५० हजार रुपैयांले पुरस्कृत

पोखरा – विभिन्न प्रतिस्पर्धीका रचनाहरुलाई पछि पार्दै पोखरेली पत्रकार / अधिवक्ता हरिप्रसाद भट्टराईद्धारा सिर्जित गीत ‘नाष्ट गान’ को छनौट भई पुरस्कृत भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सर्वोत्कृष्ट ठहरिएको भट्टराईको नाष्ट गितले ५० हजार रुपैयां नगद पुरस्कार जितेको छ ।
पोखरामा वसेर दुई दशक अघिदेखि पत्रकारितासँगै गीत, मुक्तक, साहित्य, समालोचनाको क्षेत्रमा निरन्तर कलम चलाएका भट्टराई वहु प्रतिभाका धनी भएपनि प्रचारप्रसार देखि टाढा बस्न रुचाउने प्रतिभा हुन ।
पोखरा महानगरपालिका २६, अर्मला घर भएका भट्टराई विगत केहि वर्षदेखि कानुन व्यवसायमा सक्रिय रहदै साहित्य र पत्रकारितालाई पनि सँगै अघि बढाएका छन ।
‘झर्न नसकेका आँसुहरु’ गीत तथा मुक्तक संग्रह दुई दशक अघि प्रकाशित गरी सकेका भट्टराईले दर्जनौ व्यक्ति तथा स्थान परिचय, कथा, गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र त्यसमार्फत देशको समृद्धिबारे पूर्णभाव प्रष्टफुटन हुने गरी नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई आव्हान गरेको थियो । नास्ट गान लेखनमा देशभरका दर्जनौ स्रष्टाहरुले सहभागिता जनाएका थिए ।
पोखरेली प्रतिभा भट्टराईद्वारा रचित नाष्ट गान वरिष्ठ संगीतज्ञ न्हू बज्राचार्यले संगीत दिएका छन । उनी समेतका कलाकारले स्वर दिएका छन । नास्टले हालै सम्पन्न गरेको नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नास्ट गान ‘लञ्च’ गरेका थिए । नास्टले उक्त गीत आम श्रोताको सहज पहुँचमा ल्याउने तयारी गरिरहेको समाचार छ ।

पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईद्वारा रचित सर्वोत्कृष्ट ‘नाष्ट गान’
नास्ट–गान

विज्ञान र प्रविधि हो हाम्रो ज्ञानशाला ।
विकास र समृद्धिको ठूलो आधारशिला ।।
अन्तरिक्ष उडानको नयाँ यात्रा भर्दै ।
खोज अनुसन्धानका कृतिहरु छर्दै ।।
यत्रतत्र प्रतिभाकैं कदर गरी गरी ।
प्रविधि र विकासमा भरिपूर्ण पारी ।।
शोधार्थीको कर्मथलो नास्ट हाम्रो शान ।
विश्वभरि फैलिरहोस् जय जय विज्ञान ।।

‘नास्ट गानको रचनाकार पोखराले पाउनु सम्पूर्ण पोखरेलीको गौरव हो,’ नास्ट गानका स्रष्टा भट्टराईले भने । ‘म एउटा साधक हूँ । साधनाका क्रममा एउटा रचना सर्बोत्कृष्ट हुंदा खुशी नहुने कुरै छैन । तर यो खुशी मेरो व्यक्तिगत खुशी मात्र होइन, समग्र पोखराकै खुशी हो,’ भट्टराईले थपे । २०७९/ श्रावण १५
समाचार स्रोत – एजेन्सी
File photo

Advertisment