संवैधानिक बाधा देखाएर सत्ता लम्बाउन खोजियो : ओली

 

भुपाल गुरुङ,
पोखरा १२ माघ ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सरकार संवैधानिक बाधा अवरोध देखाउदै सत्ता लम्बाउने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

पोखरामा सामुदायिक रेडियो प्रसारक  संघ नेपालको १३ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको जनादेशलाई वेवास्त गर्दै सरकार अनैतिक कार्यमा लागेको बताउनुभएको हो । ओलीले वाम गठबन्धनले जनादेश पाइसकेको बेला कांग्रेस सरकारमा बसिरहनुको औचित्य नरहेको ठहर गर्नुभयो ।

नेता ओलीले मधेसी दल नै संविधान संशोधन गर्न तत्पर नरहेको बताउनुभयो । संविधान संशोधन भए मधेसी दलको राजनितिक मुद्धा नै सिध्यिने भएपछि छलफल नै गर्न तयार नभएको उहाँको आरोप छ । ओलीले संविधान परिवत्र्तनशिल दस्तवेज रहेको भन्दै देश र जनताको हितमा संशोधन हुन सक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नेपाली कांग्रेस विपक्षमा बसेर सिर्जनाशिल भुमिका निर्वाह गर्न तयार रहेको भन्दै दुश्प्रचारमा नलाग्न आग्रह गर्नुभयो । नयाँ प्रधानमन्त्री बनाउन संवैधानिक व्यावधान रहेको भन्दै कांग्रेस नेतृत्व यसलाई विस्तारै समाधान गर्दै बाटो खुल्न गर्ने तर्फ बढेको बताउनुभयो । नेता शर्माले एमाले अध्यक्ष केपि ओलीलाई भावी प्रधानमन्त्री रुपमा शुभकामना दिदै गठबन्धन तोड्ने कांग्रेसको रणनिति नरहेको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन भित्रै अन्तर द्धन्द्ध भएर एकता हुन नसके कांग्रेस दोष दिन नहुने समेत औल्याउनुभयो ।
शार्माले राजनितिक पार्टीहरु भित्र सहकार्य र हार्दिकताको विकास हुन जरुरी रहेको समेत बताउनुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले चुनाव पछि जनताले नयाँ म्याण्डेड दिइसकेकाले सरकारलाई नैतिक प्रश्न उठेको बताउनुभयो । नेता महराले नैतिक रुपले सरकारले कुनै नयाँ निर्णय गर्न नहुने भन्दै सरकारको निर्णय अनैतिक रहेको बताउनुभयो ।
कार्यक्रममा राजापा नेपालका महामन्त्री मनिष कुमार सुमनले सरकार लुटतन्त्रमा लागेको आरोप लगाउनुभयो । महामन्त्री कुमारले अल्पमतमा रहेको सरकारले लोकप्रिया निर्णयहरु नगर्न जोड दिनुभयो । नेता कुमारले आदिवासी जनजाति र मधेसी जनताका लागि संविधान संशोधन अपरिहार्य रहेको भन्दै संविधानलाई सर्वमान्य बनाउन आग्रह गर्नुभयो ।

उहाँले नयाँ संविधानले प्रधानमन्त्री बन्ने प्रावधान नै नराखेको भन्दै नयाँ प्रधानमन्त्री बन्न समेत संविधान संशोधन गर्न जरुरी रहेको औल्याउनुभयो ।
शुक्रबार देखि पोखरामा शुरु भएको सम्मेलनमा देशभरका करिव २ सय भन्दा बढि सामुदायिक रेडियोकर्मीहरुको सहभागीता छ । सम्मेलन विहिबार सकिनेछ ।

Advertisment