एमालेको एउटा अडानले वाम एकतामा ब्रेक ! सरकारमा सहभागिता बारे माओवादी अलमलमा, यस्तो छ एमालेको अडान ?

फागुन ३, काठमाडौं ।

सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतामा ढिलाई भएको छ । बुधबार राती अबेरसम्म बसेको एकता संयोजन समितिको बैठकमा दुई पार्टीका नेताहरुबीच सैद्धान्तिक विषयमा मतभेद देखिएको एक एमाले नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठकमा माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा २१ औं सताब्दीको जनवाद र माओवाद समेत हुनुपर्नेमा जोड दिएको थियो । तर, एमालेले भने २१ औं सताब्दीको जनवाद र माओवादलाई स्वीकार गर्न नसकिने भन्दै जनताको बहुदलीय जनवाद जबज नै कार्यदिशा हुनुपर्ने अडान राखेको थियो ।

एकीकृत पार्टीको कार्यदिशाबारे दुई पार्टीका नेताहरुबीच विवाद देखिएपछि माओवादीले २१ औं सताब्दीको जनवाद, माओवाद र जबज सबैलाई सँगसँगै महाधिवेशनका लागि बहसमा लैजाने प्रस्ताव गरेको थियो । तर, सो प्रस्तावमा एमालेले आफ्नो अडान जबजलाई नै केन्द्रीत गरेको थियो । सोहि अडानका कारण बुधबारको बैठक निष्कर्षमा पुग्न सकेको ती नेताको दाबी छ ।

सोहि विवादबारे समाधान खोज्न बैठकले छुट्टाछुट्टै कार्यदल गठन गर्ने समेत सैद्धान्तिक सहमति गरेको थियो । बैठकले पार्टी एकताका लागि संगठनात्मक र कार्यदिशासम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सहमति गरेको हो । उक्त कार्यदलले देखिएका विवादबारे समाधान खोज्ने एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी जानकारी दिएपनि आजसम्म कार्यदल बनेको छैन ।

एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको छ, । ५ प्रतिशत विवादपनि चाँडै टुंगोमा पुग्ने हिजो रातीको बैठकपछि एमाले नेता गौतमले बताएका थिए ।

यसैबीच बिहिबार बिहान माओवादी शीर्ष नेताहरुको बैठक प्रचण्ड निवास खुमलटारमा बसेको बताइएको छ । बुधबारको बैठकमा एमालेले माओवाद र २१ औं सताब्दीको जनवादबारे असहमति जनाएका विषयमा समेत बैठकमा समिक्षा भएको एक माओवादी नेताले रातोपाटीलाई बताए ।

बैठकमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्ण बहादुर महरा टोपबहादुर रायमाझी, पन्फा भुसाल, जनार्दश शर्मा, देब गुरुङ, मात्रिका यादव, गिरीराजमणि पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

समिक्षा बैठकमा प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्ने तर सरकारमा जानेबारे भने पछि छलफल गर्ने थाहा भएको छ । नमिलेको कुरा ओलीसँग फेरि बैठक राखेर टुंग्याउन शीर्ष नेताहरुले प्रचण्डलाई सुझाएका छन् ।

Advertisment