हिमालमुनिका कलाकृति प्रदर्शनीमा, चित्रकला बाटै महोत्सबमा निमन्त्रणा

काठमाडौं १९ बैशाख ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका क्रममा सञ्चालित कार्यशालामा सिर्जना गरिएका हिमालमुनिका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । कलाकृतिका माध्यमबाट अन्नपूर्ण पदयात्रा मार्ग र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको पहिलो चरणः अन्नपूर्ण आधार शिविर र दोस्रो चरणः छाम्रोङमा कला कार्याशाला सञ्चालन गरिएको थियो ।

सोही कला कार्यशालामा सहभागी भएका वरिष्ठ कलकारद्वय क्षेत्रलाल कायस्थ र आलोक गुरुङ एवं प्राज्ञ नगेनसिंह ठकुरीद्वारा सिर्जना गरिएका ४५ वटा कलाकृति प्रदर्शनीमा राखिएका छन् ।  काठमाडौंस्थि ह्यात रेजेन्सीमा रहेको तारागाउँ म्यूजियममा मंगलबारदेखि सुरु भएको प्रदर्शनी वैशाख २४ गतेसम्म चल्ने महोत्सव प्रचार प्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिए । पानी तथा तेल रङले पोतिएका कलाकृतिहरुको मूल्य ९ हजारदेखि एकलाख रुपियाँसम्म तोकिएको छ ।

यसैबीच हिमालमुनिका कलाकृतिहरुको प्रदर्शनी शुभारम्भ गर्दै अन्नपूर्ण काठमाडौं समाज नेपालका अध्यक्ष मनप्रसाद गुरुङले कलाकृतिका माध्यमबाट अन्नपूर्ण पदयात्रा मार्गको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल सरकारका सहसचिव एवं समाजका उपाध्यक्ष झलकराम अधिकारीले समग्र अन्नपूर्ण क्षेत्रको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनमा चित्रकलाका माध्यमबाट गरिएको प्रचार दीगो र चिरस्थायी हुने बताए । त्यसैगरी समाजका महासचिव एवं नेपाल सरकारका उपसचिव विष्णुप्रसाद अधिकारीले अन्नपूर्ण गाउँपालिकाको समग्र विकासका लागि सरोकार निकायसँग हातेमालो गरी अघि बढ्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थ, महोत्सवका सल्लाहकार एवं नेप्लीज फेष्टिवल प्रा।लि।का अध्यक्ष यामनाथ सापकोटा लगायतले विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधारशिविर र त्यहाँको जनजीवनको सशक्त प्रस्तृति कलाकृतिमा पाइने विचार व्यक्त गरे ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरण अन्तर्गत आउँदो जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथन दौडसहित विविध साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न गर्ने तयारी गरिएको छ । यसैबीच तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनको सहआयोजक अन्नपूर्ण काठमाडौं समाजले काठमाडौंबाट प्रचारप्रसार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

Advertisment