मातृभूमि बहुउद्देश्यीय सहकारीको ११ स्थापना दिवस सम्पन्न

सहकारीलाई प्रभावकारी बनाउन सदस्यलाई सक्रिय बनाऔं ः जि.सी.
बागलुङ, ९ असार
राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सदस्यहरुलाई सचेत र सक्रिय बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको ११ औ स्थापना दिवसका अवसरमा शनिवार आयोजित सहकारी शिक्षा कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।
सहकारी संस्था शेयर सदस्यहरु सक्रिय नबनेसम्म सहकारी व्यवसाय प्रभावकारी नहुने भएकाले सदस्यहरुलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषयमा सञ्चालकहरु सचेत हुनु पर्ने उहाँको भनाइ थियो ।
सहकारी ऐनले सदस्यहरुलाई एउटा विषयको एउटा सहकारी रोज्नु पर्ने व्यवस्था गरेको भन्दै उहाँले सहकारीका सबै सदस्यले रोज्ने खालको सहकारी बनाउन आवश्यक विषयमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो ।
सहकारीहरुले व्यवसायिक योजना बनाएर सहकारी ऐन नियमको पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले उत्पादन, प्रशोधन र बजारीकरणमा लाग्ने सदस्यहरुलाई प्रोत्साहन गर्न सकेमा सहकारीको योगदान बढ्ने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य टिकाराम सापकोटा, महिला शेयर सदस्यका तर्फबाट बानपा २ का वडा सदस्य निर्मला जिसी पन्त र शेयर सदस्य डिल्लीराम शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, सचिव रामप्रसाद शर्माको सञ्चालन र शिक्षा उपसमितिका संयोजक टिकाराम सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।
संस्थाका ७० जना शेयर सदस्यको सहभागिता रहेको तालिम कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी बनाउन सञ्चालक, शेयर सदस्य र कर्मचारीको भूमिका, वचतको महत्व, कर्जा जोखिम व्यवस्थापन लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

Advertisment