सहकारी मन्त्रीद्वारा निलगिरि सहकारी अस्पतालको अनुगमन ‘स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सहकारी उपयुक्त माध्यम’

बागलुङ, ९ असार
प्रदेश नं.४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र व्यवस्थित गराउन सहकारी माध्यम उपयुक्त र प्रभावकारी हुने धारणा राख्नु भएको छ ।
धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको निलगिरि सहकारी अस्पतालको शनिवार अनुगमनका क्रममा मन्त्री थापाले यस्तो बताउनु भएको हो ।
उहाँले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सहकारी क्षेत्रले काम गरेकोमा खुशी व्यक्त गर्दै उहाँले राज्यका तर्फबाट सहकारी अस्पताललाई गर्न सकिने सहयोगका बारेमा ध्यान दिने बताउनु भएको छ ।
ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने सहकारी अस्पताललाई सहज रुपमा अगाडि बढाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
सहकारीमार्फत धेरै जना व्यक्तिहरु मिलेर जनताको सरोकार रहेको स्वास्थ्य क्षेत्रमा गरेको कामलाई थप प्रभावकारी बनाउनका लागि स्थानीय सरकार र अन्य संघ संस्थाको समेत सहयोग र समन्वय आवश्यक पर्ने उहाँले बताउनु भएको छ ।
अवलोकनका क्रममा प्रदेशसभाका सांसद इन्द्रलाल सापकोटाले सहकारीमार्फत यो क्षेत्रमा एउटा मात्र अस्पताल सञ्चालन भएको र त्यसलाई प्रभावकारी सञ्चालनका लागि प्रदेश सरकारको तर्फबाट सहयोग र समन्वय आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डिलबहादुर कार्की, सचिव रामबहादुर जिसी, निलगिरि अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.लक्ष्मी आचार्य गौतम लगायतले राज्यले जनतालाई प्रदान गर्ने स्वास्थ्य विमा सहकारी अस्पताललाई पनि प्रदान गर्न पहल गरिदिन सहकारी मन्त्री थापालाई आग्रह गर्नु भएको थियो ।
साविकको धौलागिरि अञ्चल कार्यक्षेत्र बनाएर सहकारी मार्फत सञ्चालित निलगिरि सहकारी अस्पतालमा हाल २ सय जना शेयर सदस्य, २ करोड शेयर रकम रहेको र अस्पताल सञ्चालनका लागि ३ करोड लगानी गरिएको अध्यक्ष डिलबहादुर कार्कीले जानकारी गराउनु भयो ।

Advertisment