तमुवान- मगरात आन्दोलन प्रतिरोधी र जागरणमुखी, संघर्ष समिति सचिवालय गठन

हुम तमु,
पोखरा, २७ असार ।

पहिचान र अधिकारका लागि आन्दोलनरत तमुवान—मगराँत संघर्ष समितिले प्रदेशमा असहयोग, प्रतिरोधी र जागरणमुखी आन्दोलन संचालन गर्ने भएको छ।

समितिको मंगलवार सम्पन्न बैठकले पहिचान मेट्न पाइदैन, गण्डकी नामाकरण चाहिदैन नाराका साथ तमुवान—मगराँतको सामाजिक न्याय, मानवअधिकार र पहिचानको आन्दोलनलाई असहयोग, प्रतिरोधी र जागरणमुखी बनाउने निर्णय गरेको छ। नेपाल आदिवासी जनजाति महासंघको समय समन्वयमा आन्दोलनलाई सशक्त बनाउने र आन्दोलनको कार्यक्रम सचिवालयले तय गर्ने भएको छ।

आन्दोलनलाई शसक्त, व्यवस्थित र उपलब्धिमुलक बनाउनका लागि समितिकी संयोजक कर्म तमुको संयोजकत्वमा आसबहादुर तमु, धर्मबहादुर तमु, पुर्णबहादुर रानामगर, मनबहादुर तमु, ओम तमु र हुमबहादुर तमु रहेको संघर्ष समितिको सचिवालय गठन गरेको छ भने संघर्ष समितिको प्रवक्तामा हुमबहादुर तमुलाई मनोनयन गरिएको छ।

यसरी नै तमुवान—मगराँत संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघद्धारा पहिचान मेट्न पाइदैन, गण्डकी नामाकरण चाहिदैन नाराका साथ प्रदेश बन्दको कार्यक्रम ११ वटै जिल्लामा शान्तिपुर्ण रुपले सफल भएको, बन्दमा प्रदेशका जनताको समर्थन मार्फत तमुवान—मगराँत प्रदेश नामाकरणका पक्षमा प्रदेशका जनता अभिमत जाहेर गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ। संघर्ष समितिकी संयोजक कर्म तमुद्धारा जारी विज्ञप्तिमा बन्द सफल बनाउन जुट्नु भएका प्रदेशका जनता, बन्द आव्हानलाई स्विकार्दै सहयोग गर्ने उद्योगी, व्यपारी, व्यवसायी, यातायात व्यवसायी, मजदुर, विद्यार्थी, विभिन्न संघ संस्था, समाज, राजनीतिक दल लगयात प्रदेशका जनता एंव पत्रकार, मानवअधिकारकर्मी, सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गर्दै आगामी कार्यक्रमहरुमा पनि साथ सहयोगको लागि संयोजक तमुले आग्रह गर्नुभएको छ।

यसै विच पहिचान र अधिकारको आन्दोलनको पक्षमा पहिचानवादी राजनीतिक दल मोर्चा बन्दी हुने भएका छन्। पहिचानवादी मोर्चामा संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति पार्टी मोर्चावन्दी भएका हुन। यस अघि पहिचानवादी मोर्चामा संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै पहिचानको आन्दोलनमा एक्यवद्धता जनाएका थिए भने मंगलवार उक्त पंक्तिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति पार्टी पनि समावेश भएको हो।

Advertisment