सोंपाल तमु समाजको २९ औं वार्षिक साधारणसभा, अधिकारका लागि आन्दोलित हुनुपर्छः  कर्म तमु

पोखरा, ३१ साउन

पोखरा महानगरपालिका ८ बगालेटोलस्थित श्री सोंपाल तमु समाज पोखराको विहीवार २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाको कार्यक्रमको प्रमुख अतिथि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि तमुले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुहुदै सामुदायिक अधिकारका लागि तमुहरु एक जुट हुनुपर्ने बताउनुभयो। सोंपाल तमु समाज पोखरा उत्कृष्ठ सामाजिक समाजको रुपमा स्थापित छ, अब तमु समुदायको अधिकारका लागि क्रियाशील हुन अध्यक्ष तमुले आग्रह गर्नुभयो। प्रदेश नामाकरणमा तमु लगायत आदिवासी जनजातिको पहिचानमाथि तमुहरुबाटै घात भएको भन्नुहुदै पहिचान प्राप्ति, कटौती गरिएको ल्होछार विदा पुनः प्राप्ति, तमु भाषालाई सरकारी कामकाजको भाषाका लागि सबै आन्दोलित हुन आग्रह गर्नुभयो।

कार्यक्रम विशेष अतिथि तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता, अधिकारका लागि आन्दोलन र विकृति विसंगतिका विरुद्ध खबरदारी जरुरी रहेको बताउनुभयो। उहाँले तमुहरुलाई आफ्नो अधिकार, पहिचान र संशोधित मुलुकी ऐनका बारे प्रशिक्षण आवाश्यक रहेको बताउनुभयो।निर्वाचित प्रतिनीधिहरुले तलब र भत्ताका लागि जनता माथि कर थोपर्दे नेताहरु संघीयता विरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो।

समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार क्या.मनबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै समाजका सदस्यहरु क्रियाशील हुनुपर्ने सुझाव दिनुभयो।उत्कृष्ठ समाजले सामाजिक क्षेत्र सहितको अधिकारका लागि पनि उत्कृष्ठ भुमिका निर्वाह गर्न सोपाल तमु समाजका सदस्यहरुलाई आग्रह गर्नुभयो।

यसरी नै समाजका अध्यक्ष मेजर लक्ष्मीप्रसाद तमुले अध्यक्षको मन्तव्य व्यक्त गर्नुहुदै समाजको एकता, सबैको क्रियाशीलता र सहभागीताले नै समाजले अग्रगति पाउने भएकोले सदस्यहरुलाई सक्रिय रहन आग्रह गर्नुभएको थियो।

साधारणसभाले सचिव इन्द्रप्रसाद तमु र सहसचिव धनबहादुर तमुले समाजको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सावित्री तमुले समाजको आर्थिक प्रतिवेदन र आमा समुहकी कोषाध्यक्ष साधना तमु प्रस्तुत गर्नुभएको आमा समुहको आर्थिक प्रतिवेदन पारित गरेको थियो।

श्री सोंपाल तमु समाज पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोतीप्रसाद तमुले स्वागत र सचिव इन्द्रप्रसाद तमुले कार्यक्रम संचालन गर्नुभएको थियो।

Advertisment