प्रचण्ड–माधवलाई भिडाएर नयाँ नेतृत्व,ओली गुटको रणनिति जिल्ला जिल्लामा गलहत्याइए माधव गुट

काठमाडौं । एमाले र माओवादीको एकतापछि बनेको नेकपामा तल्लो तहका कमिटीहरूमा पदीय बाँडफाँटमा किचलो हुँदा एउटा समूह बाहिरिने खतरा बढेको छ । अध्यक्ष खड्गप्रसाद ओलीको दोधारे चरित्रका कारण यस्तो खतरा बढेको नेताहरूले आरोप लगाएका छन् । ओलीभन्दा धेरै सिनियर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भावी नेतृत्वको आशमा अध्यक्ष ओलीलाई विदेश जाँदा पु¥याउन जाने र लिन जाने गर्न थालेका छन् ।
ओलीपछि पार्टीको नेतृत्व माधवकुमार नेपालले गर्ने कि रु पुष्पकमल दाहाल प्रचण्डले गर्ने रु भन्ने विषयमा तत्कालीन एमाले र तत्कालीन माओवादीका कार्यकर्ताबीच अन्योल छ भने माधव नेपाल र प्रचण्ड पनि आफैं स्पष्ट हुन सकेका छैनन् । ओली मुलुक बाहिर जाँदा कार्यवाहक अध्यक्ष माधवकुमार नेपाललाई दिएर आफूपछिको नेतृत्व माधव नेपालमा जाने भन्ने आभास दिएका थिए । तर प्रचण्डलाई महाधिवेशनपछिको नेतृत्व प्रचण्डले नै गर्ने आश्वासन दिएको स्रोतले भनेको छ । त्यसैअनुसार प्रचण्डले सबै तहमा ४० प्रतिशतका दरले पूर्वमाओवादीको नेतृत्वलाई स्थापित गर्ने कोसिस गरिरहेका छन् । त्यसक्रममा पूर्वएमालेभित्रको माधव नेपाल गुट भने क्रमशः शून्यमा झर्ने अवस्थामा पुगिसकेको छ ।
जिल्ला कमिटीहरूको एकतालाई लिएर आन्तरिक विवाद पनि चर्किएको छ । अध्यक्ष ओली पक्षले माधव नेपाल समूहलाई बढारेको र एक्ल्याएर अन्य नेताहरूलाई पाखा लगाएको आरोप नेपाल समूहको छ । देशव्यापी रूपमा ओली पक्षले एकलौटी गरिरहँदा पनि शीर्ष नेता माधव नेपाल भने चुप लागेर बसेको सो समूहमा लागेका नेताहरूले गुनासो गरेका छन् ।
नेकपाका एक नेताका अनुसार ओली पक्षले विभिन्न जिल्लामा नेपाल समूलाई कोपभाजनमा पारेका छन् । आफनो गुटको जिल्ला अध्यक्ष हुने ठाउँमा आफैंले लिने र माधव नेपाल पक्षबाट अध्यक्ष भएका स्थानमा पूर्वमाओवादी समूहलाई दिने नीति लिएका छन् । झन् ईश्वर पोखरेललाई त छेउमै पर्न दिएका छैनन् । एउटा जिल्लामा पनि पोखरेल समूहको नेतृत्व छैन । उदयपुरमा ईश्वरमणि राउत पोखरेलका सच्चा अनुयायी थिए, अहिले त्यो जिल्लाको नेतृत्व पूर्वमाओवादीले पाउने सम्भावना बढेको छ । नेपाल समूहका केन्द्रीय सदस्य जगन्नाथ खतिवडालाई इन्चार्ज दिने बहानामा पोखरेलका अनुयायी राउतलाई अध्यक्षबाट हटाएर पूर्वमाओवादीलाई दिने तयारी भएको हो ।
पार्टी एकीकरण हुँदा दाङको अध्यक्ष एमालेको भागमा परेको छ । तर, यहाँ माधव नेपाल पक्षका नेता सिनियर हुँदाहुँदै मुख्यमन्त्री शंकर पोखरेलका नातेदार शिव आचार्यलाई प्रस्ताव गरिएको छ । नेपाल समूहका टीकाराम खड्का अध्यक्ष बनेका थिए । अहिले दुई पार्टीको जिल्ला कमिटी बनाउँदा टीकारामलाई पाखा लगाइएको छ । ओलीको पक्षमा नभएकै कारण टीकारामले स्थानीय तह र प्रदेशमा पनि टिकट पाएनन् । उपाध्यक्षले पनि कुनै जिम्मेवारी पाएका छैनन् । पोखरेलका आफन्त आचार्यलाई टिपेर जिल्ला अध्यक्षमा प्रस्ताव गरिएको छ ।
रोल्पामा अध्यक्ष तत्कालीन माओवादीले पाएको छ भने सचिव तत्कालीन एमालेले पाएको छ । तर, यहाँ पनि ओली पक्षले एकलौटी गरेको छ । तत्कालीन एमालेमा हरि घर्ती अध्यक्ष थिए । उनी अहिले सचिव बन्न तयार छन् । तर, उनी मात्र होइन, उपाध्यक्ष र सचिवलाई पनि जिम्मेवारी नदिने गरी प्रस्ताव गरिएको छ । उनीहरू नेपाल समूहकै हुन् । त्यसैगरी, अर्घाखाँचीका पूर्वएमाले अध्यक्ष चेतनारायण आचार्य प्रदेश सभा सदस्य भइसकेका छन् । उपाध्यक्ष र सचिव छन् । त्यहाँ एमालेले अध्यक्ष पाएको छ । तर, तत्कालीन एमालेको जिल्ला अधिवेशनमा सचिवमा चुनाव हारेका पिताम्बर भुसाललाई प्रस्ताव गरिएको छ । उनी पनि ओली पक्षकै नेता हुन् ।
रूपन्देहीमा तत्कालीन एमालेको जिल्ला अधिवेशनबाट नेपाल समूहका शिव सुवेदी अध्यक्ष भएका थिए, तर ओली पक्षमा गोपाल भट्टराईलाई अध्यक्षमा प्रस्ताव गरिएको छ । पाल्पाका तत्कालीन एमाले अध्यक्ष जनप्रतिनिधि भए । तर, उपाध्यक्ष मोहनबहादुर थापा अध्यक्ष हुन नपाउने गरी पूर्वसांसद राधाकृष्ण कँडेललाई अध्यक्षमा अघि सारेर नेपाल पक्षलाई पाखा लगाइएको छ ।
सिनियरहरूलाई पाखा लगाएर गुल्मीमा ओली पक्षका उपसचिव बालकृष्ण काउछालाई अध्यक्ष बनाउने तयारी भएको छ । त्यहाँका सांसदद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञावाली क्रमशः श्रम र परराष्ट्रमन्त्री छन् । बाँकेमा सिनियर पदाधिकारीलाई बाइपास गरेर एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा हारेका गोपाल गिरीलाई सिफारिस गरिएको छ । सिन्धुपाल्चोकमा हस्त पण्डितलाई पाखा लगाएर पुनः झम्क नेपाललाई अघि सारिएको छ भने दोलखामा राजनीतिक व्यक्तिभन्दा पनि काठमाडौंमा सहकारी सञ्चालन गरेर बसेका भीम दाहाललाई अध्यक्ष प्रस्ताव गरिएको छ । दोलखाका लोकप्रिय नेता पूर्णप्रताप केसी माधव नेपाल समूहकै भएका कारण पाखा लगाइएको हो । दोलखामा यसअघि लालकुमार केसीले अन्यायमा परेको भन्दै पार्टी नै परित्याग गरेका थिए ।
ओखलढंगामा मोहन श्रेष्ठ नगरपालिका प्रमुख भएपछि उनको स्थानमा पूर्वमाओवादीलाई दिने तयारी भएको छ भने खोटाङमा बबी चाम्लिङ पनि जनप्रतिनीधि भएपछि उनको स्थानमा पनि पूर्वमाओवादीलाई अध्यक्ष दिने तयारी भएको छ । उनीहरू दुवैजना नेपाल समूहका हुन् । त्यस्तै, सोलुखुम्बुमा माधव नेपाल गुटलाई सिध्याउन ओली समूह जिल्ला अध्यक्ष पूर्वमाओवादीलाई दिन तयार भइसकेको छ ।
त्यस्तै, सात प्रदेशमध्ये दुईवटा प्रदेश कमिटी अध्यक्षको टुंगो लागिसकेको छ । अन्य पाँच प्रदेशमा अध्यक्षका आकांक्षी धेरै भएपछि सहमति हुन सकेको छैन । प्रदेश ७ मा तत्कालीन एमालेका पोलिटव्युरो सदस्य कर्णबहादुर थापा र सचिवमा तत्कालीन माओवादीका लक्ष्मीप्रसाद जोशीको नाम सिफारिस भएको छ । थापा ओलीका धर्मपुत्र जस्तै हुन् । प्रदेश नेतृत्व सिफारिस गर्नेमा प्रदेश ५ पनि परेको छ । यद्यपि प्रदेश ५ को कार्यदलले भने अध्यक्षमा तत्कालीन एमाले र तत्कालीन माओवादीबाट एक–एकजनाको नाम सिफारिस गरेको छ । प्रदेश बाँडफाँट गर्दा तत्कालीन एमालेले अध्यक्ष ओली समूहकै दलबहादुर राना मगर र माओवादीले पाएमा गणेशमान पुन बन्नेछन् । प्रदेश कमिटी इन्चार्जमा घनश्याम भुसाल, छविलाल विश्वकर्मा र मणि थापामध्ये एक हुने भए पनि इन्चार्ज ओली समूहकै विश्वकर्माले लिने बताइन्छ ।
प्रदेश १ को अध्यक्ष बन्न तत्कालीन एमालेबाट मात्रै करिब आधा दर्जन नेता आकांक्षी देखिएका छन् । जगन्नाथ खतिवडा, नरेश खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र राई, राजेन्द्र गौतम प्रदेश कमिटी अध्यक्षका आकांक्षी हुन् । खतिवडा लगातार दुईपटक केन्द्रीय सदस्य र पोलिटव्युरो सदस्य भइसकेका र हाल संसदीय जिम्मेवारीमा पनि नरहेका सिनियर नेता हुन् । तर उनलाई दिने सम्भावना न्यून रहेको छ । प्रदेश २ को अध्यक्षमा तत्कालीन माओवादीबाट विश्वनाथ साह र प्रभु साह प्रबल दाबेदार देखिएका छन् । तत्कालीन एमालेबाट अध्यक्ष पाउने अवस्था हुँदा नागेन्द्र चौधरी र शत्रुघन महतो दाबेदार हुन् । तर, यो प्रदेशको अध्यक्ष माओवादीबाट बन्ने भएकाले इन्चार्जमा ओली पक्षका सत्यनानारायण मण्डलको सम्भावना छ ।
गण्डकी प्रदेशको अध्यक्ष माओवादीले पाउँदा हरि अधिकारी प्रबल दाबेदारका रूपमा देखिएका छन् । उनी गोरखाबाट निर्वाचित प्रदेश सभा सदस्य पनि हुन् । तत्कालीन एमालेका खगराज अधिकारी, तुलबहादुर गुरुङलगायतका नेताको पनि चर्चा छ । गण्डकी प्रदेशको इन्चार्जमा किरण गुरुङ र देवेन्द्र पौडेलमध्ये एकको सम्भावना छ । कर्णाली प्रदेशमा सुर्खेतका यामलाल कँडेल र प्रकाश ज्वालामध्ये एकजनाले मात्र इन्चार्जको दावी गरेका छन्, त्यहाँ पनि ओली समूहकै कँडेलको दाबी बलियो हुँदै गएको छ ।
साभार ( तरुर्ण खबर

Advertisment